
सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघले प्रतिनिधी सभा सदस्य खगेन्द्र सुनारलाई स्वागत गरेको छ । महासंघको सचिवालयमा आइतबार आयोजित एक समारोहका बीच राष्ट्रिय स्वतन्त्र पार्टीवाट प्रतिनिधी सभा सदस्यमा निर्वाचित हुनुभएको सुनारलाई स्वागत गरिएको हो । उहाँले प्रतिनिधी सभा सदस्य निर्वाचित हुन अगावै देखि सुनचाँदी ब्यवसायीको हक अधिकारको क्षेत्रमा आवाज उठाउँदै आउनु भएको थियो ।
नवनिर्वाचित प्रतिनिधी सभा सदस्य सुनारले सुनचाँदी ब्यवसायीको हितका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले विगतमा पनि आफूले ब्यवसायीहरुको हक अधिकारको संरक्षणका लागि पहल कदमी लिँदै आएको उल्लेख गर्दै अव पनि आफ्नो तर्फवाट सक्दो सहयोग गर्ने बिश्वास ब्यक्त गर्नुभयो ।

त्यस अवसरमा नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष अर्जुन रसाइलीले नवनिर्वाचित प्रतिनिधी सभा सदस्य सुनारलाई महासंघको कार्यालयमा स्वागत गर्नुहुँदै ब्यवसायीका समस्याहरुका बारेमा जानकारी गराउनुभयो । अध्यक्ष सुनारले सुनचाँदी ब्यवसाय सञ्चालन सम्बन्धी प्रष्ट नीति नहुँदा आम ब्यवसायीले कठीनाई झेल्नु परेको उल्लेख गर्दै सुनचाँदी ब्यवसाय सञ्चालन सम्वन्धी प्रष्ट नीति निर्माण गर्न आवश्यक रहेको भन्दै सो कार्यमा सहयोग गर्न सांसद सुनारसँग आग्रह गर्नुभयो ।
उहाँले चालु आर्थिक बर्षको बजेटमा समावेस गरिएको विलाशिता शुल्क खारेज गर्न, भन्सार शुल्कलाई छिमेकी मुलुकसरह मिल्दोजुल्दो बनाउन र कच्चा पदार्थको आपूर्ति ब्यवस्थालाई प्रभावकारी वनाउन आवश्यक रहेको बताउनुभयो ।
भेटका क्रममा सांसद सुनारको सचिवालयका सदस्यहरुको साथै महासंघका बरिष्ट उपाध्यक्ष दियेशरत्न शाक्य, प्रथम उपाध्यक्ष धर्मसुन्दर बज्राचार्य, महासचिव किरणभाई बज्राचार्य, कोषाध्यक्ष सुदिप श्रेष्ठ, सदस्यहरु हेमराज शाक्य, प्रकाश शाक्य, रत्नसुन्दर शाक्य लगायतको उपस्थिति रहेको थियो ।