२०८३ बैशाख १९ , शनिवार

बजेटको तयारी तिब्र, करको दर घटाएर राजस्व बढाउने अर्थ मन्त्रालयको योजना

Swornim

सुनाखरी न्युज/ काठमाडौं ।
सरकारले बजेटको तयारी तिव्र पारेको छ ।  अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी बजेट नीतिगत सुधार, करको बोझ घटाउने, सुशासन प्रवर्द्धन गर्ने र निजी क्षेत्रको लगानी आकर्षित गर्नेमा केन्द्रित हुने बताए ।

कर घट्दा राजस्व घट्छ भन्ने परम्परागत सोचमा सरकार नरहेको र करको दर घटाएर पनि राजस्व बढाउन सकिने उनको भनाइ छ ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आगामी आर्थिक वर्षको बजेटलाई लक्ष्य गरी ‘जग बसाल्ने बजेट : बाटो के, कसरी  ?’ विषयमा बिहीबार आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री वाग्लेले आगामी बजेट पैसा खन्याएरभन्दा पनि नीतिगत व्यवस्था ल्याएर सुशासनको झल्को दिने किसिमको आउने दाबी गरे । आयकर र भन्सार दर उच्च भएको विषयमा पुनरावलोकन गरिने र करको बोझ घटाएर खपत वृद्धि गर्ने लक्ष्यका साथ बजेट ल्याउने तयारी भइरहेको उनले प्रस्ट्याए ।

आगामी आर्थिक वर्ष अर्थतन्त्रको आकार ७० खर्ब रुपैयाँभन्दा बढी पुग्ने र राष्ट्रिय योजना आयोगले दिएको बजेटको सिलिङ कम भएको दाबी गरे । सरकारले खर्च गर्न नसक्दा पछिल्लो समय वैदेशिक अनुदान घट्दै गएको अर्थमन्त्री वाग्लेको भनाइ छ । आगामी आर्थिक वर्ष अर्थतन्त्रको आकार ७० खर्ब रुपैयाँभन्दा बढी पुग्ने र राष्ट्रिय योजना आयोगले दिएको बजेटको सिलिङ कम भएको दाबी गरे । आयोगले आगामी आर्थिक वर्षका लागि १८ खर्ब ९० अर्ब रुपैयाँको बजेट सिलिङ दिएको छ ।

 

आगामी आर्थिक वर्षका लागि योजना आयोगले दिएको बजेटको सिलिङअनुसार योजना पेस गरिरहेको अर्थमन्त्री वाग्लेले बताए ।