२०८३ बैशाख १७ , बिहिवार

वर्षापछि वायुको गुणस्तरमा सुधार

Kathmandu-768×512

सुनाखरी न्युज/ काठमाडौं।

गत साता तीव्र रूपमा वृद्धि भएको काठमाडौँ उपत्यकाको वायुको गुणस्तरमा सुधार आएको छ । सुक्खा मौसम र वन डढेलोका कारण बढेको प्रदूषण वर्षासँगै क्रमशः घट्न थालेको हो । एयर क्वालिटी इन्डेक्स ( एक्यूआई)  का अनुसार गत साता वायु गुणस्तर सूचकाङ्क बढेर २४७ पुगेको थियो । उक्त स्तर ‘धेरै अस्वस्थ’ श्रेणीमा पर्ने भएकाले सर्वसाधारणको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका थिए । आज भने प्रदूषण घटेर एक्युआइ ७९ पुगेको छ ।

जुन ‘अस्वस्थ’ श्रेणीमा पर्दछ । गत साता काठमाडौँ विश्वको पहिलो प्रदूषित सहरका रुपमा सूचीकृत भएकामा आज भने २६औँ स्थानमा सूचीकृत भएको एक्युआइको तथ्याङ्कमा उल्लेख छ । एक्यूआईको मापदण्डअनुसार ०–५० सम्म ‘राम्रो’, ५१–१०० ‘मध्यम’, १०१–१५० ‘अस्वस्थ’, १५१–२०० ‘सबैका लागि अस्वस्थ’, २०१–३०० ‘धेरै अस्वस्थ’ र ३०० भन्दामाथि ‘अत्यन्त खतरनाक’ मानिन्छ ।

वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले पछिल्लो समय पर्याप्त वर्षासहित हुरी चलेकाले वायुप्रदूषण नियन्त्रण भएको बताए । लामो समयसम्म वर्षा नहुँदा धुलो र धुवाँ वायुमण्डलमा थुप्रिने, वन डढेलो बढ्ने र त्यसबाट निस्किएको धुवाँ उपत्यकामा जम्ने अवस्थाले प्रदूषण उच्च हुन्छ, उनले भने, छिमेकी मुलुक भारतबाट आउने प्रदूषित हावाले पनि काठमाडौँको वायु गुणस्तरमा असर पार्ने गरेको छ ।