
सुनाखरी न्युज/ काठमाडौं
अमेरिका र इजरायलले इरानमा आक्रमण सुरु गरेपछि जारी तनावका कारण कच्चा तेलको मूल्य चार वर्षयताकै उच्च भएको छ । पछिल्लो तथ्यांकअनुसार, ब्रेन्ट कच्चा तेलको मूल्य लगभग ११९.७६ डलर प्रति ब्यारेल पुगेको हो, जुन जुन २०२२ पछिको उच्चतम स्तर हो ।रुस–युक्रेन युद्धका कारण सन् २०२२ को फेब्रुअरी–मार्च तिर कच्चा तेलको मूल्य बढेर करिब १३० डलर प्रतिब्यारेलसम्म पुगेको थियो ।
द गार्जियनका अनुसार यो ट्रम्पको बयानको कारण हो, जसमा उनले अमेरिकाले इरानी बन्दरगाहहरूमा सैन्य नाकाबन्दी जारी राख्ने बताएका थिए । इरानले आफ्नो आणविक कार्यक्रममा सम्झौता नगरेसम्म नाकाबन्दी नहटाइने उनले चेतावनी दिए । ट्रम्पले इरानका बन्दरगाहहरुमा सैन्य नाकाबन्दी जारी राख्ने अभिव्यक्ति दिएका थिए । ट्रम्पले इरान आफ्नो परमाणु बन्द गर्ने सम्झौताका लागि तयार नभएसम्म नाकाबन्दी जारी रहने बताएका छन् ।
यसको सिधा असर स्ट्रेट अफ होर्मुज समुद्री मार्गमा परेको छ । इरान नियन्त्रित स्ट्रेट अफ होर्मुज विश्वभर तेल ढुवानी हुने महत्वपूर्ण जलमार्ग हो । यहाँ अमेरिका र इरानबीच बेलाबेला आक्रमणका घटना हुँदै आएका छन् । असुरक्षाका कारण सयौं तेल ट्यांकरहरु र पानी जहाजहरु अलपत्र छन् । जसका कारण विश्वभर तेल र ग्याँसको ढुवानी प्रभावित हुँदा महँगी बढेको छ ।
ट्रम्पले फेरि सामाजिक सञ्जालमा एउटा तस्वीर साझा गरेका छन्, जसलाई इरानको लागि खतरा मानिएको छ । आँधी आउँदैछ र आउने कुरालाई कसैले रोक्न सक्दैन, उनले लेखेका छन् । अमेरिकाले पछिल्लो दुई महिनामा इरान युद्धमा २५ अर्ब डलर खर्च गरेको छ । अमेरिकी रक्षा विभागका वरिष्ठ अधिकारी जुल्स डब्ल्यू हर्स्टले बुधबार हाउस आर्मड सर्भिसेज कमिटीको सुनुवाइमा यो जानकारी खुलासा गरेका हुन् ।