
सुनाखरी न्युज/ काठमाडौं ।
इजरायली सेनाले अप्रिल– १६ देखि सुरु भएको युद्धविराम उल्लङ्घन गर्दै मङ्गलबार पनि दक्षिणी लेबनानमा आक्रमण जारी राखेको छ ।लेबनानको राष्ट्रिय समाचार एजेन्सीले इजरायली लडाकु विमानहरूले नबातीह जिल्लाको जाव्तार अल–शार्कियाह सहरमा तीन वटा हवाई आक्रमण गरेको रिपोर्ट गरेको छ ।
यसै बीच दक्षिणी लेबनानको बिन्ट जेबिल जिल्लाको ह्यारिस सहरमा इजरायली हवाई आक्रमण गरे पछि धेरै मानिसहरू बेपत्ता भएको जनाइएको छ । इजरायली लडाकु विमानहरूले टायर जिल्लाको जबल अल–बटुम सहरमा आक्रमण गरेको तथा बिन्ट जेबिलमा भारी मेसिन गनहरू प्रहार गरेको जनाइएको छ ।
लेबनानको स्वास्थ्य मन्त्रालयले दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमणमा चार जनाको मृत्यु हुनुका साथै ५१ जना घाइते भएको घोषणा गरेको छ ।दक्षिणी लेबनानमा आक्रमण जारी राखेर, इजरायली इकाईले अप्रिल– १६ मा लागु भएको १० दिने युद्धविरामको उल्लङ्घन गरिरहेको छ । ( रासस/ क्युएनए )