
सुनाखरी न्युज/ काठमाडौं ।
ट्राफिक प्रहरीले पछिल्लो चौबीस घण्टामा दुई हजार ७४६ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । आज बिहानसम्म काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ ( मापसे ) सेवन गरी सवारी चलाउने ७९, राइड सेयरिङमा २२५, रातोबत्तीमा १७५, तीव्रगतिमा १४८, लेनक्रसमा ३२४, सडक फुटपाथमा १४९, हर्न निषेधमा ५५, ओराल्ने र चढाउनेमा ५४, अन्यमा एक हजार ५३७ गरी दुई हजार ७४६ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले राससलाई जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “बितेको चौबीस घण्टाको अवधिमा उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने दुई हजार ७४६ वटा सवारीसाधनका चालकलाई कारबाही गरिएको छ । उक्त कारबाहीबाट जम्मा राजस्व रकम २९ लाख ६४ हजार ५०१ सङ्कलन भएको छ ।”
मादक पदार्थ सेवन गरी सवारी चलाउनु कानुनविपरीत तथा दण्डनीय कार्य भएको र चालकले मादक पदार्थ वा लागुपदार्थ सेवन गरेको शङ्का लागेमा यात्रुले तत्काल नजिकैको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बर १०३ र प्रहरीको हटलाइन नम्बर १०० मा खबर गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ । (रासस)