२०८३ बैशाख १५ , मंगलबार

दयाशङ्कर पत्रकारिता सम्मान पत्रकारद्वय बस्नेत र बराललाई

kumar

 

सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल पत्रकार महासङ्घ कास्कीद्वारा सञ्चालित एवं दयाशङ्कर पालिखेको परिवारद्वारा स्थापित प्रजातन्त्र सेनानी दयाशङ्कर पालिखे पत्रकारिता सम्मानबाट राससका वरिष्ठ सम्पादक सूर्यचन्द्र बस्नेत र बिबिसी नेपाली सेवामा कार्यरत पत्रकार कृष्णमणि बराललाई सम्मान गरिने भएको छ । प्रतिभा छनोट समितिले २०८१ बाट पत्रकार बस्नेत र २०८२ बाट पत्रकार बराललाई सम्मान गर्ने गरेको सिफारिसलाई सोमबार नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष माधवप्रसाद बरालको अध्यक्षतामा बसेको बैठकले अनुमोदन गरेको हो ।

सम्मानित पत्रकारद्वयलाई जनही एक लाख एक हजार १११ रुपैयाँ नगद, दोसल्ला र सम्मानपत्र प्रदान गरिने छ । उहाँहरूलाई यही वैशाख २२ गते दयाशङ्कर पालिखेको स्मृति दिवसका अवसरमा सम्मान गरिने पत्रकार महासङ्घ कास्कीका सचिव भूपाल गुरुङले जानकारी दिनुभयो ।

प्रतिभा छनोट समितिमा पत्रकार महासङ्घ कास्कीका पूर्वअध्यक्ष तथा प्रेस स्वतन्त्रता सेनानी रवीन्द्रनाथ बास्तोला, प्रेस स्वतन्त्रता सेनानी नवराज सुवेदी, पत्रकार महासङ्घ कास्कीका पूर्वअध्यक्ष रामकृष्ण ज्ञवाली र पत्रकार महासङ्घ कास्कीका अध्यक्ष माधवप्रसाद बराल र सचिव भूपाल गुरुङ सदस्य रहेका थिए ।

तनहुँको व्यास नगरपालिका–२ दमौलीमा जन्मनुभएका बस्नेत विगत ३० वर्षदेखि पत्रकारितामा सक्रिय हुनुहुन्छ । राष्ट्रिय समाचार समितिमा वरिष्ठ सम्पादकको रुपमा कार्यरत उहाँले यसअघि राष्ट्रपुकार साप्ताहिक, हिमालय टाइम्स, नेपाल समाचारपत्र र आदर्श समाज दैनिकमा पनि काम गर्नुभएको थियो ।

त्यस्तै पोखरा महानगरपालिका–७ नुवारथोकमा जन्मनुभएका बराल २०५५ सालदेखि पत्रकारितामा सक्रिय हुनुहुन्छ । बिबिसी नेपाली सेवा, अन्नपूर्ण पोस्ट दैनिक र इनेचर न्युज डटकममा कार्यरत उहाँले दी हिमालय टाइम्स, समाधान दैनिक, देशान्तर साप्ताहिक, नेपाली टाइम्स पनि काम गर्नुभएको थियो । उहाँहरूलाई पत्रकारितामार्फत समाज, राष्ट्र र लोकतन्त्रमा पु(याएको योगदानस्वरुप सम्मान गर्न लागिएको अध्यक्ष बरालले जानकारी दिनुभयो । (रासस)