
सुनाखरी न्युज/ काठमाडौं ।
चालु आर्थिक वर्षको साउनदेखि चैतसम्मको ९ महिनामा ६ सय १५ उद्योगमा ४१ अर्ब ७९ करोड ८५ लाख रुपैयाँको प्रत्यक्ष विदेशी लगानी प्रतिबद्धता (एफडीआई) आएको छ । जब कि गत आर्थिक वर्षको सोही अवधिमा ४७ अर्ब ९७ करोड ६४ लाख रुपैयाँको लगानी प्रतिबद्धता आएको थियो । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको सोही अविधमा एफडीआई १२.८५ प्रतिशतले घटेको हो ।
उद्योग विभागका अनुसार कुल ६ सय १५ उद्योगमा २२ हजार ३ सय १६ जनालाई रोजगारी दिने प्रतिबद्धतासमेत छ । विभागको स्वचालित प्रणालीबाट ४ सय २६ उद्योगमा ४ अर्ब ९ करोड रुपैयाँ लगानी स्वीकृत भएको छ । अप्रुभल रुटबाट १ सय ८९ उद्योगमा ३७ अर्ब ६९ करोड रुपैयाँ लगानी स्वीकृत भएको विभागको तथ्यांक छ ।
सरकारले ४ फागुनमा राजपत्रमा सूचना प्रकाशन गरी स्वचालित मार्ग (अटोमेटिक रुट) मार्फत स्वीकृत हुने एफडीआईको सीमा हटाइसकेको छ । यसअघि स्वचालित मार्गबाट कुल पुँजी ५० करोड रुपैयाँसम्मको मात्रै एफडीआई स्वीकृत हुने गरेको थियो । तर पनि लगानीकर्ता आकर्षित हुन सकेको देखिँदैन ।