
सुनाखरी न्युज/ काठमाडौं ।
वार्षिक २० करोड रुपैयाँभन्दा बढी कारोबार गर्ने व्यवसायीले अब अनिवार्य रूपमा विद्युतीय माध्यमबाट बिलबीजक जारी गर्नुपर्ने भएको छ । आन्तरिक राजस्व विभागले नयाँ निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको हो । यसअघि २५ करोड रुपैयाँभन्दा बढी कारोबार गर्ने व्यवसायीका लागि यस्तो व्यवस्था थियो ।
विभागले जारी गरेको नयाँ सूचनामा भनिएको छ- कारोबारको प्रकृति अनुसार उपभोक्तारग्राहकलाई प्रत्यक्ष रूपमा बीजक जारी नगर्ने बैंकरवित्तीय संस्था जस्ता निकायहरू बाहेक वार्षिक कारोबार २० करोडभन्दा बढी गर्ने सबै करदाताहरूले अनिवार्य रूपमा विद्युतीय माध्यमबाट बीजक जारी गर्नुपर्नेछ ।
सो बीजक जारी गर्दाकै बखत विभागको केन्द्रीय बीजक अनुगमन प्रणालीमा आबद्ध गर्ने विभागको गएको चैत्र २७ गतेको निर्णय हो । उक्त निर्णय कार्यान्वयन गर्नरगराउन सम्बन्धित सरोकारवाला करदाता तथा कार्यालयहरूलाई विभागले निर्देशन जारी गरेको हो ।
विभागका अनुसार तोकिएको सीमाभन्दा बढी कारोबार गर्ने कम्पनीहरू अनिवार्य रूपमा केन्द्रीय बीजक अनुगमन प्रणाली (सीबीएमएस) मा आबद्ध हुनुपर्नेछ । यस प्रणालीमार्फत जारी हुने हरेक बिल स्वतः सरकारको केन्द्रीय सर्भरमा रेकर्ड हुने विभागले जनाएको छ ।
१० करोड माथिको कारोबार गर्नेले भने यस अघिकै ब्यवस्था अनुसार कम्प्युटर बिल जारी गर्नुपर्ने हुन्छ । साथै कम रकमको कारोबार गर्नेले पनि आफूले चाहेमा इविलिङ प्रणालीमा आवद्ध हुन सक्ने विभागले जनाएको छ ।