२०८३ बैशाख १० , बिहिवार

सडक सहयोगापेक्षी मानवमुक्त बनाउन कार्यवाहक प्रमुख डंगोल आफैँ फिल्डमा

photo-cd059c21

सुनाखरी न्युज/ काठमाडौं ।

काठमाडौँ महानगरपालिकाले काठमाडौँलाई ‘सहयोगापेक्षी सडक मानवमुक्त सहर’ बनाउने उद्देश्यका साथ सडक आश्रित व्यक्तिहरूको उद्धार कार्यलाई तीव्रता दिएको छ ।काठमाडौँलाई सडक आश्रित सहयोगा पेक्षीमुक्त सहर बनाउन महानगरपालिकाले नेपाल प्रहरी, मानव सेवा आश्रम र स्थानीयहरूको सहभागिताका सडकमा रहेका बिरामी, मानसिक तथा शारीरिक रूपमा अशक्त, बेवारिसे व्यक्तिहरूलाई उद्धार गर्न थालेको हो ।पशुपति क्षेत्रबाट नुवाकोट घर भएका ६५ वर्षीय पुरुष, रामेछाप घर भएका ५० वर्षीय, ४८ वर्षीय र ४१ वर्षीय गरी ३ जना पुरुष र काभ्रे घर भएका ४८ वर्षीय १ जना र ५० वर्षीय एक जना व्यक्ति गरी ६ जनालाई उद्धार गरियो ।

उनीहरूमध्ये ३ जना सामान्य अवस्थाको छन् । एक जनाले पाइपबाट पिसाब निकाल्न युरिन क्याथेटर लगाएका छन् । एक जनाको बायाँ खुट्टा काटिएको छ । एक जनाले क्षयरोगको औषधि सेवन गरिरहेका छन् । पशुपति क्षेत्रपछि सेवाका लागि खटिएको टोली कालीमाटी पुगेको थियो । कालीमाटीबाट काभ्रे घर भएका ८६ वर्षीय एक जना पुरुष र काभ्रे घर भएका ५० वर्षीय एक जना पुरुषको उद्धार भयो । उनीहरू दुवैको अवस्था सामान्य छ ।

टेकु क्षेत्रबाट धादिङ घर बताउने करिब ६० वर्षीय एक जना ज्येष्ठ नागरिकको उद्धार भएको छ । उद्धार तथा पहिचान, उपचार तथा पुनः स्थापना कार्यलाई व्यवस्थित बनाउन काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँको अध्यक्षतामा उच्च स्तरीय समन्वय समिति गठन गरिएको छ । समितिको सदस्यमा जिल्ला प्रशासन कार्यालय, गुठी संस्थान, पशुपति क्षेत्र विकास कोष, नेपाल प्रहरी र मानव सेवा आश्रमका प्रतिनिधि सदस्य छन् । समितिको सदस्य सचिवमा सामाजिक विकास विभागका प्रमुख छन् ।

महानगर प्रहरी बलले तोकेको अधिकारीको संयोजकत्वमा अवस्था अध्ययन, उद्धार, संरक्षण र पारिवारिक पुनर्मिलनका लागि सहजीकरण कार्यदल गठन गरिएको छ । यसमा नेपाल प्रहरीले तोकेको एक जना अधिकारी र मानव सेवा आश्रमले तोकेका २ जना प्रतिनिधि रहनुहुनेछ ।सार्वजनिक तथा सम्पदा क्षेत्रमा सहयोगापेक्षीहरुको अवस्था अध्ययन गर्ने, उद्धार सेवा सञ्चालन गर्ने, स्क्रिनिङ् गर्ने, उपचारका लागि सहजीकरण गर्ने, पारिवारिक तथा सामाजिक पुनः स्थापना गर्ने काम टोलीले गर्नेछ । टोलीले हरेक दिन बिहान ६ देखि ९ बजेसम्म, दिउँसो १ देखि ३ बजेसम्म र साँझ ८ देखि १० बजेसम्म उद्धार सेवा सञ्चालन गर्नेछ ।