२०८३ बैशाख १० , बिहिवार

नेप्सेको कारोबार विनियमावली स्वीकृत, अब चौबिसै घण्टा ‘अर्डर’ हाल्न सकिने

Nepse-2

सुनाखरी न्युज/ काठमाडौं ।

सेयर लगानीकर्ताले चौबिसै घण्टा सेयर खरिद बिक्रीको आदेश (अर्डर) दिन सक्ने भएका छन् । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) को कारोबार विनियमावली प्रस्ताव धितोपत्र बोर्डले स्वीकृत गरेको छ । जुन प्रस्तावअनुसार खरिद बिक्री आदेशका लागि नियमित कारोबारको समय पर्खनु पर्दैन ।

नेप्सेले धितोपत्र कारोबार सञ्चालन विनियमावली २०७५ लाई समय सापेक्ष बनाई संशोधन प्रस्ताव धितोपत्र बोर्ड पठाएको थियो । नेप्सेले प्रस्ताव गरेका केही व्यवस्थामा परिमार्जन गरेर बोर्डले स्वीकृत गरेको छ ।

 

नेप्सेले प्रस्ताव गरेअनुसारको सर्किट ब्रेक, कम्पनीको सेयर मूल्यमा उतारचढाव सीमा, कारोबार आदेश गर्न सकिने समयमा केही हेरफेर गरेर सञ्चालक समितिले स्वीकृत गरेको बोर्डका एक अधिकारीले बताए।

‘नेप्सेले तीन वटा सर्किटको प्रस्ताव गरेको थियो,’ ती अधिकारीले भने, ‘बोर्डले स्वीकृत गर्दा २ वटामा सीमित गरेको छ, त्यसैगरी कारोबारका लागि अर्डर हाल्न मिल्ने समय कारोबार समयबाहेक साँझ ६ बजेदेखि बिहान ६ बजे प्रस्ताव गरेकोमा बोर्डले त्यसलाई चौबिसै घण्टा बनाएको हो ।’

 

कारोबार समयका कारण विदेशमा रहेका कतिपय नेपालीले दोस्रो बजारमा लगानी गर्न नपाएको गुनासो सुनवाई गर्न नियमित कारोबार समयपछि पनि अर्डर गर्न सकिने व्यवस्था गरेको ती अधिकारीको भनाइ छ ।