
सुनाखरी न्युज/ काठमाडौं ।
नेपाली नयाँ वर्ष २०८३ का अवसरमा रुसको राजधानी मस्कोस्थित नागोर्नाया सांस्कृतिक केन्द्रमा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।गैरआवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद् रुसको आयोजनामा आइतबार सम्पन्न सो कार्यक्रममा कलाकारहरु रामजी खाँड, भूमिका गिरीलगायतले गीत सङ्गीत प्रस्तुत गरेका थिए । कार्यक्रममा करिब ३०० नेपाली सहभागी थिए । कार्यक्रममा सहभागी नेपालीहरू ती कलाकारका साङ्गीतिक प्रस्तुतिसँगै रमाए ।
कार्यक्रमका प्रमुख अतिथि रसियाका लागि नेपालका कार्यवाहक राजदूत महेश्वरमणि त्रिपाठीले रुसमा कोभिड–१९ को महामारीपछि नेपालबाट कलाकार ल्याएर गरिएको यो कार्यक्रम पहिलो भएको उल्लेख गर्नुभयो । उहाँले यसप्रकारका कार्यक्रमले परदेशमा पनि नेपाली कला र संस्कृति जोगाउन सहयोग पुगेको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालीहरु नेपालबाट बाहिर गए पनि आफ्नो हृदयबाट नेपालीपनलाई कहिल्यै भुल्न सक्दैनन्, यो कार्यक्रम त्यसैको प्रतिफल हो । नयाँ वर्षको अवसरमा आयोजना गरिएको यो कार्यक्रमले आगामी दिनमा पनि निरन्तरता पाउनेमा आशावादी छु ।”
त्यस अवसरमा एनआरएनए रुसका अध्यक्ष सिताराम कट्टेल ( मिलन ) ले कार्यक्रम आयोजनाका लागि सहयोग गर्नुहुने सम्पूर्णलाई धन्यवाद दिनुभयो । उहाँले यस्तो कार्यक्रम आगामी दिनमा पनि आयोजना गरिने र यसका लागि सबैको साथ सहयोग आवश्यक रहने बताउनुभयो । उहाँले लामो समयपछि ठूलो मेहनतका साथ सांस्कृतिक कार्यक्रम आयोजना गर्न सफल भएको बताउनुभयो ।
एनआरएनएका उपाध्यक्ष तथा कार्यक्रमका संयोजक संज्ञान कार्कीले विदेशमा नेपाली कला र संस्कृतिलाई जोगाइराख्न र यसको प्रवर्द्धनका लागि यस्ता कार्यक्रम महत्त्वपूर्ण हुने बताउनुभयो । उहाँले आगामी दिनमा पनि यसप्रकारका कार्यक्रम आयोजना गरी नेपाली भाषा, कला र संस्कृति प्रवर्द्धन गर्ने बताउनुभयो । त्यस अवसरमा नेपालबाट यहाँ आएका कलाकारका साथै रुसमा रहेका नेपालीहरुले नेपाली संस्कृति झल्कने गीत र नृत्य प्रस्तुत गर्नुभएको थियो । (रासस)