२०८३ बैशाख १० , बिहिवार

घरजग्गा कर्जा १.७ गुणाले बढ्यो, कुन ठाउँमा कति किनबेच ?

1740724021-YwUQj

सुनाखरी न्युज/ काठमाडौं ।

घरजग्गा कारोबारमा सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकले घर जग्गा कर्जा १.७ गुणले बढेको जनाएको छ । राष्ट्र बैंकले विगत ५ वर्षमा घर जग्गा कर्जा १.७ गुणाले बढेको हो । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० लाई आधार मानेर सार्वजनिक गरेको घरजग्गा कारोबारसम्बन्धी प्रतिवेदनले बजारमा यस्तो प्रवृत्ति देखिएको उल्लेख गरेको छ ।

प्रतिवेदनअनुसार घरजग्गा किनबेचमा मौसमीय प्रभाव स्पष्ट देखिन्छ । वर्षको सुरुवाती तीन महिनामा कारोबार कम हुने प्रवृत्ति छ भने तेस्रो र चौथो त्रैमासमा कारोबार उल्लेखनीय रूपमा बढ्ने गरेको पाइन्छ ।केन्द्रीय बैंकका अनुसार घर जग्गा कर्जा १ खर्ब ६०.३६ अर्ब रुपैयाँबाट बढेर २ खर्ब ७५. ९६ अर्ब रुपैयाँ पुगेको छ । यद्यपि वृद्धि प्रवृत्ति सहज भएको छैन । राष्ट्र बैंकले सोमबार ‘रियल स्टेट कारोबारको वर्तमान अवस्था तथा प्रवत्तिसम्बन्धी तथ्यांक’ प्रतिवेदन प्रकाशन गर्दै उक्त कुरा बताएको हो । प्रतिवेदन अनुरुप २०७८/७९ को पहिलो त्रैमासिकमा घरजग्गा कर्जामा वार्षिक वृद्धि २४.५ प्रतिशत पुगेको थियो ।

विगत चार आर्थिक वर्षहरूमा, घरजग्गा कर्जाको औसत त्रैमासिक वृद्धि दर त्रैमासिक आधारमा २.७० प्रतिशत र वार्षिक आधारमा १२.४८ प्रतिशत रहेको छ । प्रदेशगत हिसाबले कारोबार संख्यामा मधेश प्रदेश सबैभन्दा अगाडि छ, त्यसपछि लुम्बिनी प्रदेश पर्छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने कारोबार अपेक्षाकृत कम देखिएको छ । जग्गाको क्षेत्रफलका आधारमा पनि मधेश प्रदेशकै हिस्सा उच्च रहेको छ । महानगर र उपमहानगर क्षेत्रहरूमा ५ देखि १० आना आकारका घडेरीमा सबैभन्दा बढी कारोबार भएको छ ।

अधिकांश प्रदेशहरूमा १० देखि २५ आनासम्मका घडेरी किनबेच बढी हुने गरेको देखिए पनि मधेश प्रदेशमा २० आनाभन्दा ठूला प्लटमा कारोबार बढी भएको पाइएको छ । घोषित मूल्यका आधारमा भने बागमती प्रदेश अगाडि रहेको छ । कर्जा प्रवाहतर्फ हेर्दा आर्थिक वर्ष २०७८/७९ देखि २०८१/८२ सम्म घरजग्गा कर्जा करिब ७२.४१ प्रतिशतले वृद्धि भएको छ भने आवासीय कर्जा पनि ६१.५५ प्रतिशतले बढेको छ । २०८१/ ८२ को चौथो त्रैमासिकमा रेकर्ड गरिएको वृद्धि औसतभन्दा कम थियो, जसले घरजग्गा ऋणको मागमा कमी आएको संकेत गर्दछ ।