२०८३ बैशाख १० , बिहिवार

अमेरिका र इरानबीच १५ घण्टाभन्दा लामो प्रत्यक्ष वार्ता, पाकिस्तानले गर्यो मध्यस्थता

america-iran

सुनाखरी न्युज/ काठमाडौं ।

इरान र अमेरिकाबीच पाकिस्तानको राजधानी इस्लामावादमा  चलिरहेको युद्धविराम वार्ता दोस्रो दिन आइतबार पनि लम्बिएको छ। ह्वाइट हाउसका एक अधिकारीलाई उद्धृत गर्दै अमेरिकी सञ्चारमाध्यमले यो प्रत्यक्ष वार्ता १५ घण्टादेखि जारी रहेको र अझै चलिरहेको जनाएका छन्। इरानी सरकारले पनि केही मतभेदहरू बाँकी रहे तापनि वार्ता अघि बढिरहेको स्पष्ट पारेको छ।

गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि सुरु भएको युद्धले मध्यपूर्वलाई मात्र नभई विश्व अर्थतन्त्रलाई नै धक्का दिएको थियो। तर, पाकिस्तानको मध्यस्थतामा अप्रिल ८ मा दुई हप्ताको अस्थायी युद्धविराम लागू भएपछि यी वार्ताहरू सुरु भएका हुन्।

 

सन् १९७९ को इरानी इस्लामिक क्रान्तिपछि ९४७ वर्षयता० यी दुई देशका उच्च तहका नेताहरू यसरी प्रत्यक्ष वार्तामा बसेको यो पहिलो पटक हो।

 

यस ऐतिहासिक वार्तामा अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व उपराष्ट्रपति जेडी भान्सले गरेका छन्। उनको टोलीमा राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुश्नर र मध्यपूर्वका लागि अमेरिकी दूत स्टिभ विटकफ पनि सहभागी छन्।

यसैगरी, इरानी टोलीको नेतृत्व संसद्का सभामुख मोहम्मद बागेर गालिबाफले गरेका छन् भने टोलीमा विदेशमन्त्री अब्बास अराघचीलगायतका नेताहरू पनि समावेश छन्।

 

इस्लामावादस्थित सेरेना होटलमा प्राविधिक विवरणहरूलाई अन्तिम रूप दिन वार्ता चलिरहेको छ। शनिबार राति विशेषज्ञहरूको टोलीले घण्टौं लामो प्रत्यक्ष छलफलपछि लिखित प्रस्ताव र मस्यौदाहरू आदानप्रदान गरेका थिए।

दुई देशका विशेषज्ञ समितिहरूले सुरक्षा, राजनीति, सेना, अर्थतन्त्र, कानुन र आणविक मुद्दाहरूमा गहिरो छलफल गरेका छन्। यद्यपि, केही मुख्य विषयहरूमा अझै सहमति जुट्न सकेको छैन।

इरानको आणविक कार्यक्रम, प्रतिबन्ध फुकुवा, रोक्का राखिएको इरानी सम्पत्ति र लेबनानमा भइरहेको इजरायली आक्रमण प्रमुख विवादका विषय बनेका छन्।

इरानले लेबनानमाथि इजरायलले गरिरहेको आक्रमण तत्काल रोक्न माग गरेको छ। साथै, इरानले इजरायल र अमेरिकाका निर्णयहरू आपसमा जोडिएकाले यदि यो वार्ता निष्कर्षविहीन भएमा त्यसको दोष इजरायललाई मात्र नभई अमेरिकालाई पनि जाने स्पष्ट पारेको छ ।