
सुनाखरी न्युज/ काठमाडौं ।
एसियाली विकास बैंक (एडीबी) ले सन् २०२६ मा नेपालको आर्थिक वृद्धिदर २.७ प्रतिशतमा खुम्चिनेप्रक्षेपण गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्ष २०२५ मा ४.६ प्रतिशतको आर्थिक वृद्धि अनुमान गरेको थियो । गत भदौको जेन-जी विद्रोह र पश्चिम एसियाको द्वन्द्वका कारण यस वर्ष अर्थतन्त्र सुस्त हुने एडीबीको ठहर छ ।
एडीबीले शुक्रबार आफ्नो आर्थिक प्रकाशन ‘एसियाली विकास परिदृश्य’ सार्वजनिक गर्दै वर्ष २०२६ मा मुद्रास्फिति दर करिब ३।७ प्रतिशत रहने, विप्रेषण आप्रवाह तथा निर्यातको वृद्धिदरमा कमी आउने, चालु बचत खाता कुल गार्हस्थ उत्पादन (जीडीपी) को ५.३ प्रतिशतसा सिमित हुने अनुमान गरेको हो ।
एडीबीका अर्थशास्त्री मनबर खड्काका अनुसार यस वर्ष कृषि, उद्योग र सेवा क्षेत्रको वृद्धिदर सुस्त रहने देखिएकाले समग्र आर्थिक वृद्धि २.७ प्रतिशतमा झर्ने अनुमान गरिएको बताए । ‘गत अक्टोबरको बाढी र धान उत्पादनमा आएको गिरावटका कारण कृषि क्षेत्रको वृद्धिदर २.७ प्रतिशतमा सिमित हुने देखिएको छ,’ उनले भने ।
अमेरिकारइजरायल-इरान युद्धले गर्दा पश्चिमा एसियामा निम्तिएको तनावले तेलको मूल्य बढेपछि नेपालमा इन्धन र यातायातको लागत बढ्दा मूल्यवृद्धिमा चाप परेको एडीबीको प्रतिवेदनमा उल्लेख छ । युद्धले नेपालको रेमिट्यान्स र पर्यटन क्षेत्रमा पनि जोखिम बढाएको एडीबीको ठहर छ । दुई हप्ताका लागि युद्धविराम गरिए पनि कदाचित यो द्वन्द्व लम्बिएमा खाडी देशहरूको अर्थतन्त्र कमजोर भई नेपाली श्रमिकको माग घट्ने र त्यसले रेमिट्यान्सको वृद्धि दर खुम्च्याउने ठानिएको छ । नेपालको कुल रेमिट्यान्सको झण्डै ४० प्रतिशत हिस्सा खाडी समन्वय परिषद् (जीसीसी) मा आबद्ध देशहरूबाट आउने गरेको छ ।