
सुनाखरी न्युज/ काठमाडौं ।
बुधवार साँझ पाटन दरबार स्क्वायरमा चक्कु प्रहारबाट घाइते भएका सुमित र सिर्जन नेम्वाङको ज्यान गएको छ । ‘रङ नम्बर’मा फोन जाँदा भएको विवादले उग्ररुप लिँदा बुधबार उक्त घटना घटेको थियो। घटनामा दुई दाजुभाइ झापाका २६ वर्षीय सिर्जन नेम्बाङ र ३३ वर्षीय सुमित नेम्बाङमाथि चक्कु प्रहार भएको थियो।
जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी होविन्द्र बोगटीले दाजुभाइमाथि छुरा प्रहार गरि हत्या गर्ने ललितपुर महानगरपालिका–९ भूलढोकाका सञ्जीव नेपाली र उनका सहयोगी गैँडाकोटका गगन सुनारलाई पक्राउ गरि थप अनुसन्धान सुरु गरिएको जानकारी दिए ।ललितपुर जिल्ला प्रहरी परिसरका प्रमुख होविन्द्र बोगटीका अनुसार नेम्वाङ दाजुभाइले गलत नम्बरमा फोन गर्दा सञ्जीव नेपालीसँग सम्पर्क भएको थियो। सामान्य कुराकानीबाट सुरु भएको संवाद चाँडै विवादमा परिणत भयो र दुवै पक्षबीच फोनमै चर्काचर्की भयो। त्यसपछि सञ्जीवले उनीहरूलाई पाटनमा भेट्न बोलाएका थिए।
इमाडोलबाट पाटन पुगेका दाजुभाइसँग भेट्ने क्रममा सञ्जीव नेपाली मासु पसलमा प्रयोग हुने धारिलो दाउ लिएर आएका थिए। प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार भेटघाटपछि विवाद झन् चर्किँदा उनले एक्कासी दाउ प्रहार गरेका थिए। सार्वजनिक स्थलमै भएको यो आक्रमण यति तीव्र थियो कि दुवै दाजुभाइ गम्भीर रूपमा घाइते भए।
घाइते दाजुभाइलाई प्रहरीले तत्कालै ग्वार्कोस्थित बिएण्डबी अस्पताल लगेको थियो । अस्पतालले मृत घोषणा गरेको हो । मृतक सुमित ३३ र सिर्जन २६ वर्षका थिए । प्रहरीलाई प्राप्त प्रारम्भिक सूचनाअनुसार सुमित र सिर्जन बुबासहित ललितपुरको इमाडोलमा बस्थे ।