
सुनाखरी न्युज/ काठमाडौं ।
सरकारले सार्वजनिक यातायात तथा ढुवानीका साधनको भाडामा उल्लेख्य वृद्धि गर्ने निर्णय गरेको छ ।यातायात व्यवस्था विभागका अनुसार मन्त्रालयको सहमतिसँगै नयाँ भाडादर कायम गरेको जनाएको छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाका अनुसार सार्वजनिक यातायातको भाडा १६. ७१ प्रतिशतले वृद्धि गरिएको छ । यात्रुवाहकमा १६. ७१, पहाडी बाटोमा सञ्चालन हुने मालवाहकमा २१. ६८ र तराई मालबाहकमा १५. ७५ प्रतिशतले भाडा वृद्धि भएको हो ।
यातायात व्यवस्था विभागका अनुसार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले भाडा वृद्धिका लागि सैद्धान्तिक स्वीकृति दिइसकेको छ । विभागले केही समयभित्रै आफ्नो आधिकारिक वेबसाइटमार्फत् नयाँ भाडादरको विस्तृत विवरण सार्वजनिक गर्ने तयारी गरेको छ ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धि र अन्य प्राविधिक कारण देखाउँदै यातायात व्यवसायीहरूले लामो समयदेखि भाडा समायोजनको माग गर्दै आएका थिए ।