
सुनाखरी न्युज/ काठमाडौं ।
सेयर बजार सोमबार ८३.३३ अंक बढेको छ । सो अंकको वृद्धिसँगै बजार परिसूचक नेप्से २७६० अंकमा पुगेको छ । दिउँसो २ : ३३ बजे नेप्से परिसूचक ९८ अंकसम्म बढेर २७७५ अंकसम्म पुगेको थियो, जुन विन्दु आज कारोबार अवधिको उच्चतम रह्यो ।
अर्थमन्त्री स्वर्णिम वाग्लेले अघिल्लो दिन उच्च अंक बजार घटेपछि आज बिहान स्टक ब्रोकर एसोसिएसन अफ नेपालका पदाधिकारीसँग भेटवार्ता गरी बजारमा अनावश्यक त्रास फैलिएको बताएका थिए ।
आगामी बजेट रुपान्तरणकारी हुने र बजारको पारदर्शिताका लागि सरकारले काम गर्ने आश्वासन दिएका थिए । बजारमा आत्तिनु नपर्ने आशय दिएका थिए । त्यस्तै आर्थिक पत्रकार समाज ९सेजन०का पदाधिकारीसँगको भेटमा पनि उनले रास्वपाको घोषणापत्रमा उल्लेख भएअनुसार बजार सुधारको काम हुने बताएका थिए । नेप्से पुनर्संरचनाको काम अघि बढिरहेको स्पष्ट पारेका थिए ।
अर्थमन्त्रीको आश्वासनले पनि आज बजार बढ्न मद्दत पुगेको हो । कारोबार रकम केही घटेको छ । अघिल्लो दिन १२ अर्ब ३८ करोडको कारोबार भएकोमा आज १० अर्ब ९२ करोडको भयो ।
सबै समूहका सूचक बढेका छन् । हाइड्रोपावर समूह सबैभन्दा धेरै ४.५९ प्रतिशत बढ्यो ।