
सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आइतबार ४० अर्ब रुपैयाँ खिच्ने भएको छ । बजारमा अधिक तरलता भएपछि राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आज उक्त रकम उठाउन लागेको हो । बैंकको मौद्रिक व्यवस्थापन विभागले ५६ दिन अवधिको निक्षेप संकलनका लागि बोलकबोल आह्वान गरेको हो, जसको अन्तिम समय आज दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम (OBSS)मार्फत तोकिएको छ।
यस बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन् । सहभागी संस्थाले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकम ( ४० अर्ब) सम्मका लागि आवेदन दिन सक्नेछन् ।
बजारको माग र आपूर्तिका आधारमा ब्याजदर निर्धारण हुने यो उपकरणमा सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने बैंकलाई प्राथमिकता दिइनेछ। संकलित रकमको साँवा तथा ब्याज आगामी जेठ १७ गते भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ। यस प्रकारको निक्षेप संकलनले बजारमा रहेको निष्क्रिय तरलता व्यवस्थापन गर्न मद्दत पुग्ने र वित्तीय स्थायित्व कायम हुने अपेक्षा गरिएको छ।