२०८३ बैशाख १० , बिहिवार

पर्यटकलाई जानाजानी विष दिने दावी झूठो र भ्रामक : सीआईबी

CIB Nepal GN

सुनाखरी न्युज/ काठमाडौं

सगरमाथा क्षेत्रमा गाइडहरूले पर्यटकलाई खानामा विषालु पदार्थ मिसाएर नियतवश बिरामी बनाउने गरेको भनी सञ्चार माध्यममा आएका समाचारलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो  ( सीआईबी )  ले पूर्णतः आधारहीन र भ्रामक भनेको छ । गाइडहरूले नियतवश पर्यटकलाई खानामा विषालु पदार्थ मिसाएर बिरामी बनाउने गरेको भन्ने दाबीलाई सीआईबीले पूर्णतः भ्रामक र आधारहीन ठहर गर्दै औपचारिक खण्डन गरेको हो ।

सीआईबीले शुक्रबार औपचारिक विज्ञप्ति जारी गर्दै यस्ता दाबीमा कुनै सत्यता नभएको जनाएको हो । ‘फेक रेस्क्यु’ प्रकरणको अनुसन्धानलाई जोडेर प्रसारित यस्ता समाचारले नेपालको पर्यटन क्षेत्रमा नकारात्मक असर पुर्‍याएको भन्दै ब्युरोले खण्डन गरेको छ । यस्ता अप्रमाणित र भ्रामक समाचार सम्प्रेषण गर्नु गैरकानुनी कार्य भएको सीआईबीले जनाएको छ ।

सीआईबीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा यस्ता कपोलकल्पित समाचारले मुलुकको छवि र पर्यटन उद्योगलाई गम्भीर क्षति पुर्‍याउने उल्लेख गरिएको छ।  सगरमाथा क्षेत्र नेपालका लागि केवल प्राकृतिक सम्पदा मात्र नभई आर्थिक र सांस्कृतिक पहिचानसँग जोडिएको क्षेत्र भएकाले यस्ता अपुष्ट समाचारले अन्तर्राष्ट्रिय पर्यटकको विश्वास घटाउने जोखिम रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । त्यसैले पर्यटनसम्बन्धी समाचार सम्प्रेषण गर्दा तथ्यको प्रमाणिकता, आधिकारिक स्रोत र सन्तुलित प्रस्तुतीकरणमा विशेष ध्यान दिन सीआईबीले पुनः आग्रह गरेको छ ।