
सुनाखरी न्युज/ काठमाडौं ।
काठमाडौँमा जारी नवौँ संस्करणको नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सव ९निफ०मा शुक्रबार आयोजित ‘सिनेमा संवाद विथ रमेश सिप्पी एण्ड राजेश हमाल’ नामक सत्रमा भारतीय चलचित्रका प्रसिद्ध निर्देशक रमेश सिप्पी र नेपाली चलचित्रका अभिनेता राजेश हमालले संवाद गर्नुभएको छ । अभिनेता हमालले सहजीकरण गर्नुभएको उक्त अन्तरक्रियात्मक कार्यक्रममा निर्देशक सिप्पीले आफ्नो लोकप्रिय चलचित्र ‘शोले’ निर्माणका अनुभवबारे खुला रूपमा चर्चा गर्नुभयो । उहाँले भन्नुभयो, “शोले मेरा लागि सोचिएको वा लेखिएको चलचित्र होइन । लेखक जोडी सलिम–जावेदले एउटा सानो कथाको स्वरूप तयार गर्नुभएको थियो । त्यो सुरूमा अरु कसैका लागि सोचिएको थियो । तर त्यो मेरो शैलीसँग मेल खाने देखेपछि मलाइ प्रस्ताव गरियो । उनीहरूले एक आर्मी अफिसर र दुई अपराधीको कथा सुनाए र हामीले मिलेर सबै पटकथा तयार गर्यौं । त्यो हामी सबैको सामूहिक प्रयासको प्रयासको नतिजा थियो ।”
उहाँले सुरुआती समयमा चलचित्रलाई असफल मानिएता पनि दर्शक चलचित्र भवनमा ‘रिपिट’ भएपछि सफल हुनेमा आफू विश्वस्त भएको बताउनुभयो । उक्त चलचित्र आफूले सोचे जस्तो बनाउन नसक्नुको कारण प्राप्त बजेट रहेको निर्देशक सिप्पीले खुलासा गर्नुभयो । “मैले माग गरेको बजेटभन्दा आधा पाएको कारण म कसरी तयार गर्ने भन्ने रनभुल्लमा थिएँ, तर हामी सबै प्राविधिकको मेहनतले चलचित्र बन्यो, र सबै दर्शकले मन पराउनुभयो । सोही सफलताका कारण म यहाँ नेपाल आइपुगेको छु”, निर्देशक सिप्पीले भन्नुभयो । उहाँका अनुसार सन् १९७३ अक्टोबर २ मा एक करोड बजेटमा सुरु गरिएको थियो । करिब एक घण्टासम्म चलेको उक्त संवाद कार्यक्रममा अभिनेता हमालले दर्शककै रूपमा निर्देशक सिप्पी माँझ जिज्ञासा राख्नुभयो ।
नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले नेपाली चलचित्रलाई विश्वबजारसँग जोड्ने उद्देश्यले आयोजना गरेको ‘नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सव’ ( निफ) मा प्रतिस्पर्धामा रहेका ४० देशका ८८ चलचित्र प्रदर्शन हुने महोत्सवका अध्यक्ष केपी पाठकले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीले युवापुस्ता केन्द्रित चलचित्रलाई प्राथमिकता दिएका छौँ । युवालाई प्रोत्साहन गर्न हामीले एआई चलचित्र निर्माण कार्यशालालगायतका कार्यशाला पनि राखेका छौँ । युवा दर्शकमा आशा जगाउने हाम्रो मुख्य प्रयास छ ।” यही २३ चैतसम्म सञ्चालन हुने महोत्सवमा चलचित्रकर्मीसँग अन्तरक्रिया, युवा पुस्ता र एआई चलचित्रलाई प्राथमिकता रहेको उहाँले जानकारी दिनुभयो ।
‘विश्वभरका कथाको उत्सव’ भन्ने नारा राखिएको महोस्तावमा प्रतिस्पर्धामा नरहेका ६ चिनियाँ र ४ रुसी चलचित्रसमेत प्रदर्शन गरिने अध्यक्ष पाठकले जानकारी दिनुभयो । महोत्सवमा अन्तरराष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत सर्वोत्कृष्ट हुने चलचित्रलाई एक हजार पाँचसय अमेरिकी डलर राशिसहित ‘गौतम बुद्ध अवार्ड’ प्रदान गरिनेछ । त्यसै, राष्ट्रिय तथा अन्तरराष्ट्रियबाट कुनै एक चलचित्रलाई ‘अन्तरराष्ट्रिय चलचित्र समाज महासङ्घ’को तर्फबाट ‘डन कि होते’ शीर्षकमा पुरस्कार प्रदान गरिनेछ ।
नेपाली प्रतिस्पर्धा अन्तर्गत उत्कृष्ट चलचित्रलाई एक लाख नगद र ट्रफी, उत्कृष्ट छोटो चलचित्र र उत्कृष्ट वृत्तचित्रलाई रू ५०–५० हजार नगद र ट्रफी प्रदान गरिनेछ । महोत्सवमा सर्वोत्कृष्ट अन्तरराष्ट्रिय वृत्तचित्रलाई एक हजार डलर राशिको ‘माउन्ट एभरेस्ट अवार्ड’ र सर्वोत्कृष्ट अन्तरराष्ट्रिय लघुचलचित्रलाई ५०० डलरको ‘बागमती अवार्ड’ प्रदान गरिनेछ । एआई प्रविधिको चलचित्रलाई ५०० अमेरिकी डलरको ‘मञ्जुश्री अवार्ड’ प्रदान गरिने आयोजकले जनाएको छ । (रासस)