
सुनाखरी न्युज/ काठमाडौं ।
चैत्र शुक्ल चतुर्दशीका दिन बौद्ध क्षेत्रमा लाग्ने तेमाल जात्रा आज सुरु भएको छ । प्रत्येक वर्ष चैत्र पूर्णिमाका दिन बौद्ध, स्वयम्भू र नमोबुद्ध क्षेत्रमा मनाइने यो जात्रा तामाङ समुदायको धार्मिक तथा सांस्कृतिक पहिचानसँग जोडिएको पर्व हो ।
तामाङ समुदायले दिवङ्गत आत्माको शान्तिको कामना गर्दै चैत्र शुक्ल चतुर्दशीका दिन लामा गुरुद्वारा विशेष पूजापाठ गर्दै बौद्ध चैत्यमा बत्ती बाल्ने गर्छन्। तेमाल जात्रा चैत पूर्णिमा अघिल्लो दिन बौद्धमा पूजा पाठ गर्ने र पूर्णिमाको दिन बालाजु बाइस धारामा स्नान गरी स्वयम्भू महाचैत्यमा पुगेर पूजा पाठ गरी समापन गरिन्छ।
बौद्ध तेमाल जात्रामा विभिन्न संघसंस्था, गुठी, क्लबले निशुल्क जुस, पानी वितरणसँगै स्वास्थ्य शिविर सञ्चालन गरेका छन्। त्यस्तै बत्ती बाल्न र पूजा गर्न लामको व्यवस्था गरिएको छ भने बौद्ध परिसरमा तामाङ फापरे व्हाई, डम्फु व्हाई आदिमा नाचगान गरी रमाइ रहेकाहरु पनि उत्तिकै मात्रामा देखिन्छन् ।
दिवङ्गत पितृका नाममा बत्ती बालेका दर्शनार्थीले पूर्णिमाका दिन बिहान बालाजु बाइसधारामा स्नान गर्छन्। स्नानपछि स्वयम्भू चैत्यमा पुगेर पूजापाठ गरेपछि जात्रा समाप्त हुन्छ।

