२०८३ बैशाख १० , बिहिवार

बैंक कर्मचारीद्वारा अर्काको खाताबाट ३ करोडभन्दा बढी रकम चोरी

Bainkthagi_20260330215916

 

सुनाखरी न्युज/ काठमाडौं । 

ग्राहकको खाताबाट रकम हिनामिना गरेको आरोपमा बैंकका दुई कर्मचारी पक्राउ परेका छन् । छुट्टाछुट्टै घटनामा ग्राहकको साढे ३ करोड हिनामिना गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् ।उदयपुरको गाईघाट शाखामा कार्यरत त्रियुगा नगरपालिका–५ निवासी सुनिता बानियाँलाई नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ग्राहकको करिब २ करोड रुपैयाँ हिनामिना गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो ।जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी राजन चापागाईंका अनुसार बानियाँले अनलाइन बेटिङ ( सट्टेबाजी )  का लागि उक्त रकम प्रयोग गरेको प्रारम्भिक बयान दिएकी छन् ।

प्रहरीले उनलाई बैंकिङ कसुर तथा ठगी सम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाएको जनाएको छ । बैंकका २६ जना ग्राहकको रकम अनधिकृत रूपमा प्रयोग भएको देखिएपछि बैंकले नै उनीविरुद्ध उजुरी दिएको थियो । उजुरीका आधारमा पक्राउ गरिएकी बानियाँमाथि थप अनुसन्धान भइरहेको र घटनामा अन्य व्यक्तिको संलग्नता रहेको भए त्यसतर्फ पनि अनुसन्धान जारी रहेको एसपी चापागाईंले जानकारी दिए ।

अर्का कर्मचारीले ग्राहकको १ करोड ६५ लाख ट्रान्सफर गरे

मोबाइल बैंकिङमार्फत ट्रान्सफर गर्दा अलर्ट समेत नहुने गरी तथा कनेक्ट आइपिएसको माध्यमबाट एक करोड ६५ लाख रुपैयाँ ट्रान्सफर गरी लगेको आरोपमा कपिलवस्तु नगरपालिका वडा नम्बर ३ का २८ वर्षीय रिसभ कार्की पक्राउ परेका हुन्।कार्कीले बैंकको कर्मचारी हुनुको फाइदा उठाउँदै विभिन्न समयमा बैंकको आन्तरिक प्रणालीभित्र प्रवेश गरी अनधिकृत कार्य गरेको पाइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक रिपेन्द्र कुमार सिंहले जानकारी दिए ।

कार्कीले केही ग्राहकहरूको खातामा दर्ता भएको मोबाइल नम्बर परिवर्तन गरी आफ्नै मोबाइल नम्बर राखेको र मोबाइल बैंकिङको ‘ट्रान्जेक्सन अलर्ट’  ( पैसे काटिएको सन्देश )  समेत नआउने बनाएका थिए । त्यसपश्चात् उनले मोबाइल बैंकिङ र कनेक्ट आइपीएसको माध्यमबाट विभिन्न ग्राहकहरूको खाताबाट कुल १ करोड ६५ लाख रुपैयाँ अनधिकृत रूपमा ट्रान्सफर गरी रकम हिनामिना गरेको प्रहरीको दाबी छ । इलाका प्रहरी कार्यालय पकडीबाट खटिएको प्रहरी टोलीले कार्कीलाई २०८२ चैत ११ गते पकडी क्षेत्रबाटै नियन्त्रणमा लिएको हो ।