२०८३ बैशाख १० , बिहिवार

संसद् अधिवेशन बिहीबारदेखि शुरु हुँदै, के के छन् छलफलका बिषय ?

सुनाखरी न्युज/ काठमाडौं ।
संघीय संसद्को अधिवेशन बिहीबारदेखि हुने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले  मन्त्रिपरिषद्ले सोमबार गरेको सिफारिसअनुसार संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेका हुन् । फागुन २१ को निर्वाचनबाट प्रतिनिधिसभा गठन भएपछि पहिलो पटक संसद् अधिवेशन हुन लागेको हो ।

प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक बिहीबार दिउँसो २ बजेका लागि आह्वान गरिएको छ । राष्ट्रपति पौडेलले संविधानको धारा ९३ को उपधारा (१) बमोजिम संघीय संसद्को अधिवेशन आह्वान गरेका हुन् । उक्त उपधारामा लेखिएको छ, ‘राष्ट्रपतिले प्रतिनिधिसभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र संघीय संसद्को अधिवेशन आह्वान गर्नेछ । त्यसपछि यस संविधानबमोजिम राष्ट्रपतिले समय–समयमा दुवै वा कुनै सदनको अधिवेशन आह्वान गर्नेछ ।’

२१ फागुनमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम चैत ५ मा घोषणा गरिएको थियो । रास्वपाका वरिष्ठ नेता वालेन्द्र शाह १३ चैतमा प्रधानमन्त्रीमा नियुक्त भएका थिए । त्यही दिन १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको थियो । मन्त्रिपरिषद्को दोस्रो बैठकले सोमबार संघीय संसद्को अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

आगामी अधिवेशनमा प्रतिनिधिसभामा सभामुख र उपसभामुखको निर्वाचन हुनेछ । संविधानको धारा ९१ मा ‘प्रतिनिधिसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रतिनिधिसभाका सदस्यहरूले आफूमध्येबाट सभामुख र उपसभामुखको निर्वाचन गर्ने’ व्यवस्था छ ।