
सुनाखरी न्युज/ काठमाडौं ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय तथा उच्च शिक्षाका विभिन्न तहमा सञ्चालन हुँदै आएका इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू पूर्ण रूपमा बन्द गर्न निर्देशन दिएको छ ।
शिक्षामन्त्रीमा सस्मित पोखरेल आएलगत्तै मन्त्रालयले विद्यालय तह र उच्च शिक्षाका विभिन्न तहमा भर्ना हुनुअघि सञ्चालन हुने यस्ता तयारी कक्षाहरू बन्द गर्ने निर्णय गरेको हो।यस्ता कार्यक्रमले विद्यार्थीको मनोविज्ञान तथा शिक्षामा समतामूलक पहुँचमा नकारात्मक प्रभाव पार्ने र विद्यार्थीका लागि अनावश्यक आर्थिक बोझ पर्ने मन्त्रालयको दाबी छ ।
आइतबार मन्त्रिस्तरीय निर्णय गर्दै उनले १ वैशाख २०८३ देखि यस्ता कक्षाहरू पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेका हुन् ।यो निर्णय मन्त्रीस्तरबाट चैत १३ गते नै गरिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो समय निजी संस्थाहरूले भर्ना लक्षित गरी सञ्चालन गर्दै आएका ब्रिज कोर्स र इन्ट्रान्स तयारी कक्षाले विद्यार्थीमा अनावश्यक प्रतिस्पर्धा र मानसिक दबाब सिर्जना गरेको निष्कर्ष निकालिएको छ । यस्ता कक्षाले शिक्षामा समान पहुँचमा बाधा पुर्याउनुका साथै आर्थिक रूपमा कमजोर अभिभावकमाथि थप बोझ पार्ने गरेको पनि उल्लेख गरिएको छ ।