२०८३ बैशाख १० , बिहिवार

युद्धविरामका लागि अमेरिकाले पठायो इरानलाई प्रस्ताव

donald trump

सुनाखरी न्युज/ काठमाडौ ।
अमेरिकाले इरानलाई युद्बविरामका लागि १५ बुँदे प्रस्ताव पठाएको छ।

अमेरिकाले यही साताको सुरूवातमा मध्यस्थकर्तामार्फत इरानलाई युद्धविरामका लागि १५ बुँदे प्रस्ताव पठाएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

युद्धविरामका लागि अमेरिकी प्रस्तावमा इरानले कहिल्यै परमाणु हतियार नबनाउने, तीन ठूला परमाणु भट्टीहरूस फर्दो, नतान्ज र इस्फहान बन्द गर्ने, समृद्ध गरिएका युरेनियम अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएईए) लाई बुझाउने लगायत उल्लेख छ।

त्यस्तै इरानको ब्यालिस्टिक मिसाइल कार्यक्रम सीमित गर्ने, हर्मुज समुद्री मार्ग पूर्ण रूपमा खुला गर्ने लगायतका सर्त रहेको अमेरिकी पत्रिका फरेन पोलिसीले जनाएको छ।

इरानले इसराइलमाथि घेराबन्दी गर्न लेबननमा हिजबुल्लाह, यमनमा हुथी, प्यालेस्टाइनमा हमासलाई पैसा र हतियार दिँदै आएको छ।

अमेरिकाले यो कार्य पनि पूर्ण रूपमा बन्द गर्नुपर्ने प्रस्ताव अघि सारेको छ।

अमेरिकी प्रस्ताव स्वीकार गरेको खण्डमा अमेरिकाले इरानमाथिको सबै अन्तर्राष्ट्रिय प्रतिबन्ध हटाउने, नागरिक परमाणु ऊर्जा सम्बन्धी कार्यक्रमलाई सहयोग र सो कार्यक्रमलाई अन्तर्राष्ट्रिय रूपमा निगरानी राखिने भनेर फरेन पोलिसीले लेखेको छ।

अमेरिकाले भने यो इरानलाई पठाएको प्रस्ताव सार्वजनिक गरेको छैन।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौताका लागि इरान तयार भएको बताए।

‘परमाणु हतियार बनाउन रोक्ने विषयमा इरान सहमत छ। उनीहरू सम्झौता गर्न चाहन्छन्। तर आलोचना हुने डरले बाहिर भनेका छैनन्,’ ट्रम्पले भनेका छन्।

यद्यपि इरानले अमेरिकी प्रस्ताव पाएको चौबीस घन्टामै अस्वीकार गरिदिएको भनेर अन्तर्राष्ट्रिय समाचार संस्था एसोसियटेड प्रेसले जनाएको छ।

उसले अमेरिकाको प्रस्तावमा काउन्टर प्रस्ताव तयार गरेको एपीले जनाएको छ।