
सुनाखरी न्युज/ काठमाडौं ।
चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दसैँ पर्व आज बिहीबार देशभरका शक्तिपीठ र घर – घरमा नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाइँदैछ । वर्षमा चार नवरात्र पर्ने भए पनि आषाढ र पौष शुक्ल पक्षका नवरात्र खासै प्रचलनमा छैनन्। तथापि केही साधकले ती समयहरूमा पनि शक्ति स्वरूपा देवीको आराधना गर्ने गर्छन्।
आश्विन शुक्ल पक्षको नवरात्रमा प्रतिपदादेखि नै घटस्थापना गरी जमरा राख्ने परम्परा रहेको छ। यसै कारण उक्त नवरात्रलाई बडादशैँ भनिन्छ। बडादशैँको दशमी तिथिमा मान्यजनबाट टीका र जमरा ग्रहण गर्ने चलन छ, जुन पूर्णिमासम्म जारी रहन्छ।विशेष गरी काठमाडौंको भद्रकाली, मैतीदेवी, नक्साल भगवती, शोभा भगवती, र गुह्येश्वरी मन्दिरहरूमा पूजाआजा र दर्शन गर्नेहरूको घुइँचो देखिएको छ ।
चैते दशैँका दिन देवीको उपासना गर्नाले सुख, शान्ति र मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको छ । उपत्यका बाहिरका गोरखाको मनकामना, पोखराको विन्ध्यवासिनी, वागलुङ कालिका र ताप्लेजुङको पाथीभरा लगायतका प्रसिद्ध मन्दिरहरूमा पनि दर्शनार्थीको विशेष उपस्थिति रहेको छ । धार्मिक विश्वासअनुसार यस अवसरमा शक्तिपीठहरूमा पूजा–आराधना तथा दर्शन गरेमा शक्ति प्राप्त हुने र मनोकामना पूरा हुने मान्यता रहेको छ।