
सुनाखरी न्युज/काठमाडौं ।
द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य आकासिएपछि नेपालमा पेट्रोलियम पदार्थको खपत घटाउन सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्ने चर्चा चुलिएको छ । मूल्यवृद्धिको दबाबसँगै नेपाल आयल निगमले दैनिक रूपमा ठूलो आर्थिक घाटा व्यहोर्नु परिरहेको जनाएको छ।निगमले पेट्रोलियम पदार्थको खपत घटाउने विभिन्न विकल्पहरूबारे सरोकारवाला निकायहरूसँग गहन छलफल अघि बढाएको छ । यसै सन्दर्भमा सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गर्ने विषय पुनः चर्चामा आएको छ ।
यस्तो प्रणाली लागू गर्दा इन्धन खपतमा उल्लेखनीय कमी ल्याउन सकिने, ट्राफिक व्यवस्थापनमा सहजता आउने र विदेशी मुद्रा बाहिरिने दर केही हदसम्म नियन्त्रण गर्न सकिने अपेक्षा गरिएको छ ।यातायात व्यवस्था विभागका निर्देशक श्रीकान्त यादवले पश्चिम एसियाको द्वन्द्वले विश्व बजारमा पेट्रोलियम पदार्थको आपूर्तिमा असर पारेसँगै नेपालमा सम्भावित समस्या आउन नदिन खपत घटाउने विषयमा छलफल भएको बताए।
यादवले सोही छलफलमा जोरबिजोर प्रणाली लागू गर्नेबारे पनि विचारविमर्श भएको तर ठोस निर्णय भने भई नसकेको स्पष्ट पारे। ‘जोर–बिजोर प्रणाली लागू गर्नेबारे छलफल भएको हो, तर, ठोस निर्णय भएको छैन’, उनले भने। यद्यपि, नेपाल आयल निगमले हालसम्म नेपालको आपूर्ति प्रणालीमा द्वन्द्वको प्रत्यक्ष प्रभाव नपरेको र पेट्रोलियम पदार्थको आपूर्ति सहज रहेको जनाकारी दिएको छ।