
सुनाखरी न्युज/ काठमाडौं ।
कांग्रेसको बैठक आज सुरु हुँदै छ ।
कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सभापति गगन थापाको राजीनामा अस्वीकृत गर्ने संकेत दिएका छन् । निर्वाचनमा पार्टीले बेहोर्नुपरेको हारको नैतिक जिम्मेवारी लिँदै सभापति थापाले बुधबार शर्मालाई राजीनामा बुझाएका थिए ।
सभापतिले राजीनामा उपसभापतिलाई बुझाउनुपर्ने र उपसभापतिले केन्द्रीय कार्यसमिति बैठकमा त्यसलाई प्रस्तुत गर्नुपर्ने व्यवस्था पार्टी विधानमा छ । कांग्रेसको बैठक शुक्रबार सुरु हुँदै छ । बैठकको प्रारम्भमा नै सभापति थापाको राजीनामा पत्रमाथि छलफल गरेर टुंगोमा पुगिने महामन्त्री प्रदीप पौडेलले जानकारी दिएका छन् ।
बैठकमा उपसभापति शर्माले निर्वाचनको प्रारम्भिक समीक्षा, सभापतिको राजीनामा पत्र र राजीनामा अस्वीकृत गर्ने प्रस्ताव एकैसाथ पेस गर्ने तयारी छ । सिंगो केन्द्रीय कार्यसमितिले सर्वसम्मतिबाट थापाको राजीनामा अस्वीकृत गर्ने सम्भावना रहेको एक पदाधिकारीले बताए । विशेष महाधिवेशनबाट चुनिएको थापा नेतृत्वको केन्द्रीय कार्यसमितिमा पूर्वसभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला पक्षका कोही पनि छैनन् । केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूले धेरै अगाडिदेखि थापालाई भेटेर नै राजीनामा नदिन दबाब दिँदै आएका थिए ।
पार्टी र आफू स्वयंले निर्वाचनमा हार बेहोरेपछि नै सभापति थापाले राजीनामा दिने मनस्थिति बनाएका थिए । उपसभापति शर्मासँग २५ फागुनमा भएको भेटमै थापाले राजीनामा दिने जानकारी गराएका थिए । त्यसपछि शर्माले नै थापाको राजीनामा रोक्दै आएका थिए । विशेष महाधिवेशन र त्यसले निर्वाचित गरेको सभापति वा अरू पदाधिकारी नभएर पुरानो नेतृत्वले धेरै समयदेखि थुपारेको विकृतिका कारण निर्वाचनमा पार्टी पराजय भएको शर्माले तर्क गर्दै आएका छन् ।
पूर्वसभापति देउवा पक्षका केही नेताले भने चुनावमा अपेक्षित परिणाम नआएपछि नैतिकताको प्रश्न उठाउँदै सामाजिक सञ्जालमा थापाको राजीनामा माग्दै आएका थिए । देउवा पक्षकै पनि कतिपय नेताले सभापति थापालाई राजीनामा नदिई पार्टीलाई एकसाथ अघि बढाउँदै विशेष महाधिवेशनको तयारीमा जुट्न सुझाव दिएका थिए ।
उपसभापति शर्मा यति बेलाको प्रधान नैतिक दायित्व स्थिति सम्हाल्ने रहेको बताउँछन् ।
सभापति थापाले राजीनामा पत्रमा आफ्नो निर्णय पराजित मानसिकताको उपज नभएर जिम्मेवारीबोधको अभिव्यक्ति रहेको उल्लेख गरेका छन् ।