
सुनाखरी न्युज/ काठमाडौं ।
मध्यपूर्व क्षेत्रमा पछिल्लो समय तनाव तीव्र रूपमा बढिरहेको अवस्थामा कतारको प्रमुख ग्यास उत्पादन केन्द्र रास लाफान औद्योगिक सहरमा भएको इरानी मिसाइल आक्रमणले विश्वको ध्यान आकर्षित गरेको छ ।
कतारको सरकारी पेट्रोलियम कम्पनीका अनुसार बुधबार भएको मिसाइल आक्रमणपछि मुख्य ग्यास प्रशोधन प्लान्टमा आगलागी भएको थियो । आपतकालीन टोलीले आगो नियन्त्रणमा लिए पनि पूर्वाधारमा उल्लेख्य क्षति पुगेको बताइएको छ । यो घटनापछि कतारले इरानका दुई कूटनीतिज्ञलाई निष्कासित गरेको बीबीसीले जनाएको छ ।
रास लाफान क्षेत्र कतारको ऊर्जा केन्द्रका रूपमा परिचित छ, जहाँबाट विश्वको ठूलो हिस्सा एलएनजी आपूर्ति हुन्छ । यहाँ हुने अवरोधले अन्तर्राष्ट्रिय ऊर्जा बजारमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले आक्रमणपछि विश्वभर चिन्ता बढेको छ ।यसैबीच, होर्मुज जलडमरु क्षेत्रमा जहाज आवागमन प्रभावित हुँदा कच्चा तेलको मूल्य बढेको छ ।
इरान, इजरायल र कतारसँग जोडिएको ऊर्जा पूर्वाधारमाथि आक्रमण र प्रतिआक्रमणको शृंखलाले क्षेत्रीय द्वन्द्व थप चर्किने संकेत देखिएको छ ।