
सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै सवारीसाधनमा भाडा समायोजन गर्न माग गरेको छ ।
महासंघका महासचिव डेकनाथ गौतमले आज विज्ञप्ति जारी गरी नेपाल आयल निगमले गएराति पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिप्रति गम्भीर ध्यानाकर्षण भएको र यसबाट प्रत्यक्ष असर यतायात व्यवसायमा पर्ने बताएका छन् ।
सार्वजनिक यातायात सञ्चालनमा सवारीसाधनहरू डिजेलरपेट्रोलको इन्धन प्रयोग गरी सञ्चालन हुने हुँदा पेट्रोलियम पदार्थको मूल्य घटबढ हुँदा प्रत्यक्ष असर सार्वजनिक सवारीसाधन सञ्चालनमा देखिएको महासंघले जनाएको छ ।
महासंघले नेपाल आयल निगमभित्रको आन्तरिक चुहावट र पेट्रोलियम पदार्थको खपतलाई नियन्त्रण गरी वैज्ञानिक विधि अपनाई पेट्रोलियम पदार्थको सहज आपूर्ति व्यवस्था मिलाउन नेपाल सरकारसमक्ष माग गरेको छ ।
नियमले गएरातिदेखि डिजेलमा १० र पेट्रोलमा १५ वृद्धि गरेको थियो । यातायात व्यवस्था विभागले कानुनबमोजिम संघीय रुटको पेट्रोलियम पदार्थमा मूल्यवृद्धि हुँदा वा मूल्य घट्दा स्वचालित प्रणालीबाट मूल्य समायोजन गर्दै आएको भन्दै अहिले पनि उक्त व्यवस्था लागू गर्न अनुरोधसमेत गरेको छ ।
महासंघले संघीय रुटको भाडा यातायात व्यवस्था विभागबाट र प्रदेशअन्तर्गतको भाडा सातवटै प्रदेश मन्त्रालयबाट यथाशीघ्र समायोजन गर्नसमेत सरकारसँग माग गरेको छ ।