
सुनाखरी न्युज / काठमाडौं ।
जनमत पार्टीका अध्यक्ष सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन् । तर ‘संघर्षको राजनीति’ जारी राख्ने बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘संसदीय राजनीतिबाट संन्यास लिने, संघर्षको राजनीति जारी राख्ने । पार्टीलाई आवश्यकता रहेसम्म नेतृत्व दिँदै अगाडि बढाउने ।
म सार्वजनिक रूपमा स्पष्ट पार्न चाहन्छु– म संसदीय ( पदको ) राजनीतिबाट टाढा रहनेछु तर यसको मतलब राजनीतिबाट बीचमै गायब भएको होइन ।’उनले थप लेखेका छन्, ‘राजनीतिमा सक्रिय रहँदै, आफ्नो सिद्धान्त र एजेण्डालाई निरन्तर अगाडि बढाउँदै, जनताको लागि निरन्तर संघर्ष गर्दै जनताको सेवामा रहने नै छु ।’ सिके राउत नेतृत्वको जनमत पार्टी २०७९ सालको प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनबाट उदाएको दल हो ।
त्यसबेला जनमत पार्टी राष्ट्रिय दल बनेको थियो । प्रत्यक्षमा अध्यक्ष राउत आफैँले चुनाव जितेका थिए । समानुपातिकतर्फ थ्रेस होल्ड हटाएर जनमत पार्टीले थप पाँच सांसद सिट प्राप्त गरेको थियो । तर, यसपालिको निर्वाचनमा जनमत पार्टीले एक सिट पनि प्राप्त गर्न सकेन ।