२०८२ चैत्र २ , सोमवार

दुबई अन्तर्राष्ट्रिय विमानस्थल नजिकै ड्रोन आक्रमण, आगलागीपछि उडान ठप्प

dubai_airport_H9Buk142a4_eYct0EKkpV

 

सुनाखरी न्युज/ काठमाडौं ।

संयुक्त अरब इमिरेट्स  ( यूएई ) को दुबईमा सोमबार ड्रोन आक्रमण भएको छ। दुबई अन्तर्राष्ट्रिय विमानस्थल (DXB) नजिकै रहेको इन्धन ट्याङ्कीमा ड्रोनले आक्रमण गर्दा आगलागी भएको दुबई मिडिया अफिसले जनाएको छ।

दुबई मिडिया अफिसका अनुसार सोमबार भएको उक्त ड्रोन आक्रमणबाट विमानस्थल नजिकै रहेको इन्धन ट्याङ्कीमा आगलागी भएको छ ।ड्रोन प्रहार लगत्तै ठुलो आवाजसहित आगोको लप्का देखिएपछि यात्रु र कर्मचारीहरूमा त्रास फैलिएको थियो।

दुबई मिडिया अफिसका अनुसार आक्रमण लगत्तै नागरिक रक्षा टोलीहरू घटनास्थलमा खटिएर आगो नियन्त्रणमा लिएका छन्। दुबई नागरिक उड्डयन प्राधिकरणले यात्रु र विमानस्थल कर्मचारीहरूको सुरक्षा सुनिश्चित गर्न सावधानीका रूपमा उडानहरू निलम्बन गरिएको स्पष्ट पारेको छ।

उडान सेवा कहिलेदेखि पुनः सुरु हुन्छ भन्नेबारे निश्चित जानकारी नदिए पनि प्राविधिक र सुरक्षा जाँचपछि मात्र विमानस्थल सञ्चालनमा आउने बताइएको छ। विमानस्थल बन्द भएपछि दुबई आउने र यहाँबाट बाहिरिने सयौँ उडानहरू प्रभावित भएका छन्।