
सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल आयल निगमले ग्यास उद्योगी तथा एलपी ग्यासका विक्रेताहरूलाई घरायसी प्रयोजनका लागि प्रयोग गर्ने उपभोक्तालाई उच्च प्राथमिकतामा राखेर ग्यास बिक्री गर्न निर्देशन दिएको छ । निगमले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै बिक्रेताले उपभोक्तालाई बिक्री गर्दा उपभोक्ताको नाम, सम्पर्क नम्बर र बिक्री गरिएको परिमाणको विवरण अनिवार्य रूपमा रेकर्ड राख्नुपर्ने जनाएको हो ।
सो विवरण सम्बन्धित उद्योगमार्फत दैनिक रूपमा निगमलाई जानकारी गराउन पनि आग्रह गरिएको छ । निगमले घरायसी प्रयोजनका उपभोक्तालाई उच्च प्राथमिकतामा राखेर एलपी ग्यास वितरण गर्न निर्देशन दिए पनि, आवश्यकता भन्दा बढी ग्यास खरिद नगर्न र अनावश्यक भण्डारण नगर्न सर्वसाधारणलाई अनुरोध गरेको छ ।
फागुन २९ गतेदेखि अर्को निर्णय नभएसम्मका लागि ग्यास उद्योगहरूले प्रति सिलिण्डर १४.२ केजी एलपी ग्यास आधा मूल्यमा बजारमा उपलब्ध गराउने व्यवस्था मिलाएको पनि जनाएको छ । यसअनुसार उपभोक्ताले प्रति सिलिण्डर ९५५ रुपैयाँमा ग्यास प्राप्त गर्नेछन् ।