
सुनाखरी न्युज / काठमाडौं ।
राष्ट्रसंघको शान्ति मिसनअन्तर्गत लेबनानमा खटिएका नेपाली शान्ति सैनिकको बटालियन हेडक्वार्टरमा हवाई आक्रमण भएको छ । राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरस लेबनानको भ्रमणमा रहेका बेला यो घटना भएको हो ।
राष्ट्रसंघले ‘सेक्युरिटी लेभल–३’ लागू गराएपछि ‘यूएन प्रोटोकल’ अनुसार एक साताअघिबाटै नेपाली सेना बंकरमा बस्न थालेको थियो । सुरक्षा अवस्थाअनुसार राष्ट्रसंघले यो ‘प्रोटोकल’ परिवर्तन गर्छ । नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार शुक्रबार बेलुकी नेपाली शान्ति सैनिक रहेको मैस अल–जाबालमा एक्कासि ‘केही विस्फोट’ भएको हो । ‘दक्षिण लेबनानको बटालियन हेडक्वार्टरको एक घरमा क्षति पुगेको छ, त्यहाँ भएका व्यक्तिगत सामानसमेत नष्ट भएका छन्,’ उनले भने, ‘तर, कुनै मानवीय क्षति भएको छैन, सबै नेपाली शान्ति सैनिक सुरक्षित छन् ।’
लेबनानमा ५ सय ४० जना नेपाली सैनिक र १३ जना स्टाफ अधिकृत कार्यरत छन् । तीमध्ये आक्रमण भएको ठाउँमा कति थिए भन्ने स्पष्ट भएको छैन । ‘बटालियन हेडक्वार्टरमा सैनिकहरूको आउजाउ भइरहन्छ, शुक्रबार साँझ सबै बंकरमा हुनुहुन्थ्यो,’ प्रवक्ता बस्नेतले भने । अहिले लेबनानको शान्ति मिसनमा नेपाली सेनाका उपरथी मानबहादुर महरा ‘डेपुटी फोर्स’ कमान्डर छन् ।