
सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल आयल निगमले आधा सिलिन्डर ग्यास बेच्ने भएको छ । उपभोक्ताले अनावश्यक रुपमा ग्यास भन्डारण गर्न थालेको भन्दै निगमले अनावश्यक भन्डारण रोक्न आधा सिलिन्डर मात्रै बिक्री गर्न लागेको हो ।
निगमले शुक्रबारदेखि लागू हुने गरी ७।१ केजी एलपीजी ग्यास बजारमा पठाउन लागेको हो । प्रति सिलिन्डर ९ सय ५५ रुपैयाँमा बिक्री वितरण गर्ने निर्णय गरेको छ ।
उपभोक्ताको मागअनुसार ग्यास उपलब्ध हुने अवस्थाको सहजीकरण गर्न यस्तो निर्णय गरेको निगमले जनाएको छ । पछिल्लो समय आवश्यकताभन्दा बढी ग्यास खरिद गरी भण्डारण गर्ने प्रवृत्ति बढ्दै गएको निगमले जनाएको छ ।
निगमले नियमित रुपमा मागअनुरुप नै ग्यास आयात तथा वितरण गरिरहे पनि २-३ महिनादेखि उपत्यकामा माग उच्च देखिएको विज्ञप्तीमा उल्लेख गरेको छ । पश्चिम एसियामा जारी युद्धका कारण पेट्रोलियम पदार्थ तथा ग्यास आपूर्तिमा विश्वव्यापी रुपमा असर परिरहेको छ ।