२०८२ फाल्गुन २८ , बिहिवार

किम र छोरीबाट नयाँ पेस्तोल परीक्षण

202603121251-a0c05544-0b9f-48cb-9dfa-3c9cf4bad269_medium

सुनाखरी न्युज/ काठमाडौं ।
उत्तर कोरियाली नेता किम जोङ उनले सैन्य क्षमताको आधुनिकीकरणलाई तीव्र बनाउने सन्देश दिँदै हल्का हतियार उत्पादन गर्ने कारखानाको निरीक्षणका क्रममा नयाँ पेस्तोलको परीक्षण गर्नुभएको छ । राज्य सञ्चारमाध्यमले सार्वजनिक गरेका तस्बिरहरूमा उहाँसँगै उहाँकी किशोरी छोरी पनि शुटिङ रेन्जमा हतियार परीक्षण गर्दै देखिएकी छन्, जसले उत्तर कोरियाको भावी नेतृत्वबारे फेरि चर्चा बढाएको छ । उत्तर कोरियाको आधिकारिक कोरियन सेन्ट्रल न्युज एजेन्सी  ( केसिएनए )  का अनुसार किमले एक दिनअघि पेस्तोल तथा अन्य हल्का हतियार उत्पादन गर्ने कारखानाको निरीक्षण गर्नुभएको थियो । त्यस क्रममा हालै उत्पादनमा प्रवेश गरेको नयाँ पेस्तोलको प्रदर्शन गरिएपछि उहाँले शुटिङ रेन्जमा त्यसको प्रत्यक्ष परीक्षण गर्नुभएको थियो ।

परीक्षणपछि उक्त पेस्तोललाई उहाँले ‘उत्कृष्ट’ भन्दै मूल्याङ्कन गर्नुभएको केसिएनएले जनाएको छ । समाचार एजेन्सीले आफ्नो लिखित विवरणमा किमकी छोरीको उपस्थितिबारे उल्लेख नगरे पनि सार्वजनिक तस्बिरहरूमा उनी वरिष्ठ सैन्य अधिकारीहरूसँगै पेस्तोल फायर गरिरहेको देखिन्छ । किमले कारखानाको भूमिका सेनादेखि सुरक्षा निकायसम्मका लागि पेस्तोल तथा अन्य हल्का हतियार आपूर्ति गर्न महत्त्वपूर्ण रहेको बताउँदै उत्पादन क्षमता विस्तार गर्न र थप आधुनिक उत्पादन लाइन स्थापना गर्न निर्देशन दिनुभएको केसिएनएले उल्लेख गरेको छ ।

किमकी छोरी किम जु ए सन् २०२२ नोभेम्बरमा गरिएको लामो दूरीको मिसाइल परीक्षणका क्रममा पहिलोपटक सार्वजनिक रूपमा देखिएकी थिइन् । त्यसयता उनी आफ्ना बुबासँग विभिन्न सैन्य कार्यक्रम, कारखाना उद्घाटन र उच्चस्तरीय कूटनीतिक भेटघाटमा निरन्तर देखिँदै आएकी छन् । गत सेप्टेम्बरमा चीनको बेइजिङ भ्रमणका क्रममा पनि उनी किमसँगै देखिएकी थिइन् । त्यहाँ किम जोङ उनले चिनियाँ नेता सी जिनपिङसँग छ वर्षपछि पहिलो शिखर बैठक गर्नुभएको थियो । उनको बढ्दो सार्वजनिक उपस्थितिले दक्षिण कोरियाली गुप्तचर अधिकारी र विश्लेषकहरूलाई किमले उनलाई भविष्यको नेतृत्वका लागि तयार पारिरहेको हुन सक्ने अनुमान गर्न प्रेरित गरेको छ । उत्तर कोरियामा किम परिवारको शासनलाई चौथो पुस्तासम्म विस्तार गर्ने सम्भावनाबारे पनि यसले चर्चा बढाएको छ ।

गत महिना पनि राज्य सञ्चारमाध्यमले किम जु एलाई स्नाइपर राइफल परीक्षण कार्यक्रममा सहभागी भएको देखाएका थिए । त्यो कार्यक्रम सत्तारूढ वर्कर्स पार्टीको बैठकपछि आयोजना गरिएको थियो । बैठकमा किमले आगामी पाँच वर्षका लागि राजनीतिक तथा सैन्य प्राथमिकताहरू सार्वजनिक गर्नुभएको थियो । यसैबीच मङ्गलबार पेस्तोल कारखानाको निरीक्षणपछि किम र उहाँकी छोरीले नौसेनाको विध्वंसक जहाजबाट प्रक्षेपण गरिएको आणविक क्षमता भएको क्रुज मिसाइल परीक्षण पनि अवलोकन गर्नुभएको थियो । सो अवसरमा किमले आफ्नो नौसेनाको आणविक क्षमतालाई अझ तीव्र गतिमा विकास गर्नुपर्ने आवश्यकता दोहोर्‍याउनुभएको बताइएको छ । ( रासस / एपी )