
सुनाखरी न्युज/ काठमाडौं ।
यही बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौं उपत्यकामा परिचालन गरिएका निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने भएको छ । निर्वाचनको सुरक्षाका लागि काठमाडौंमा ३ हजार ८५४, भक्तपुरमा १ हजार ९३ तथा ललितपुरमा १ हजार ५९६ निर्वाचन प्रहरी परिचालन गरिएको नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।
उनले भने, निर्वाचन अवधिभर उपत्यकामा शान्तिपूर्ण वातावरण कायम राख्न नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा अन्य सुरक्षा निकायबीच समन्वय गरी सुरक्षा व्यवस्था मिलाइएको थियो ।
मतदानका दिनदेखि मतगणनाको चरणसम्म सुरक्षा व्यवस्थाको राम्रो प्रबन्ध मिलाइएकाले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सहयोग पुगेको उनले बताए । निर्वाचनमा खटिएका प्रहरीले जिम्मेवारीका साथ आफ्नो कार्यसम्पादन गरेका महानिरीक्षक कार्कीको भनाइ छ ।
रासस