
सुनाखरी न्युज/ काठमाडौं ।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले प्रतिनिधिसभा सदस्य महावीर पुनलाई पोखराका सडक र फुटपाथमा किताब नबेच्न आग्रह गरेका छन् । म्याग्दीबाट प्रतिनिधि सभामा निर्वाचित महावीर पुनले गत सोमबार पोखराको सडक र चोकहरूमा उभिएर पुस्तक बिक्री गरिरहेको विषयमा मेयर आचार्यले ध्यानाकर्षण गराएका छन्।
‘बिना दर्ता वा आवश्यक अनुमति कुनै पनि वस्तुको बिक्रीवितरण गर्नु कानुनी रूपमा जटिल हुन सक्छ भन्ने कुरा तपाईंलाई अवगत नै छ’, आचार्यले भनेका छन्, ‘पछिल्ला केही दिनमा सडकमा उभिएर पुस्तक बिक्री गर्दा यातायातमा असहजता भएको तथा केही अनावश्यक सवाल–जवाफ भएको देखिएको छ, जुन तपाईं जस्तो सम्मानित व्यक्तित्वलाई सुहाउने अवस्था होइन ।’उनले आवश्यकता परेको खण्डमा स्टक रहेका सबै किताब बेच्न पुस्तक व्यवसायी महासंघमार्फत पहल र सहजीकरण गर्ने समेत बताएका छन् ।
महावीरले भने अहिले विहान १० बजेदेखि पोखराको चिप्लढुङ्गा आसपास किताव विक्रि हुने जानकारी गराएका छन् । बिक्रिका लागि थप किताव काठमाडौंबाट पोखरा पुगिससकेको जानकारी दिदै उनले आज दिउँसो १ बजे सभागृह चोक र ४ बजे बिरौटा चोकका किताव बेच्ने योजना बनाएका छन् ।