२०८२ फाल्गुन २७ , बुधवार

मध्यपूर्व युद्धको असर तेल बजारमा, ऊर्जा आपूर्ति जोखिममा

petrol

सुनाखरी न्युज/ काठमाडौं ।
मध्यपूर्व क्षेत्रमा जारी युद्धका बीच इरानले क्षेत्रीय तेल उद्योग र ऊर्जा पूर्वाधारमाथि दबाब बढाइरहेको छ । यसले विश्वव्यापी ऊर्जा आपूर्ति प्रभावित हुन सक्ने भन्दै अन्तर्राष्ट्रिय स्तरमा चिन्ता बढ्दै गएको छ । बुधबार बिहान इजरायल र इरानबीच पुनः आक्रमण भएको खबर सार्वजनिक भएको छ । यसैबीच इरानले क्षेत्रका तेल उद्योगसँग सम्बन्धित संरचनाहरूलाई लक्षित गर्दै विभिन्न गतिविधि तीव्र बनाएको बताइएको छ । विश्लेषकहरूका अनुसार इरानले यस्तो रणनीति अपनाएर विश्व अर्थतन्त्रमा दबाब सिर्जना गर्दै इजरायल र अमेरिकामाथि आफ्नो सैन्य कारबाही रोक्न दबाब दिन खोजेको हुन सक्छ ।

इरानले पर्सियन खाडीबाट हिन्द महासागरतर्फ जाने प्रमुख समुद्री मार्ग हर्मुज जलडमरूमा जहाज आवागमनमा प्रभाव पारिरहेको छ । विश्वको करिब पाँच भागमध्ये एक भाग तेल यही समुद्री मार्गबाट ढुवानी हुने भएकाले यस क्षेत्रमा अवरोध हुँदा विश्व ऊर्जा आपूर्तिमा ठूलो असर पर्न सक्ने अनुमान गरिएको छ ।बुधबार बिहान ओमानको तट नजिकै हर्मुज जलडमरूमा एउटा कन्टेनर जहाजमा प्रहार हुँदा जहाजमा आगलागी भएको थियो । आगो नियन्त्रण बाहिर गएपछि जहाजका कर्मचारीहरूलाई जहाज छाडेर सुरक्षित स्थानमा जान बाध्य भएको जनाइएको छ ।

यसैबीच कुवेतले आफ्नो हवाई सुरक्षाले इरानबाट आएका आठवटा ड्रोन खसालिएको जनाएको छ । साउदी अरबले पनि आफ्नो सायबह तेल क्षेत्रमा लक्षित पाँचवटा ड्रोनलाई बाटोमै रोकेको जानकारी दिएको छ । यी घटनाले खाडी क्षेत्रका ऊर्जा पूर्वाधारमाथि खतरा बढेको सङ्केत गरेको छ । यस परिस्थितिबारे छलफल गर्न संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्ले बुधबार बैठक बस्ने तयारी गरेको छ । खाडी सहयोग परिषद्ले प्रस्तुत गरेको प्रस्तावमाथि मतदान हुने बताइएको छ ।

उक्त प्रस्तावमा इरानले आफ्ना अरब छिमेकी राष्ट्रहरूलाई लक्षित गर्दै भइरहेको आक्रमण रोक्नुपर्ने माग गरिएको छ । मध्यपूर्वमा जारी तनावका कारण विश्व ऊर्जा बजार अस्थिर बन्न सक्ने र तेलको मूल्यमा उतारचढाव बढ्न सक्ने चिन्ता अन्तर्राष्ट्रिय स्तरमा व्यक्त गरिएको छ । विश्लेषकहरूका अनुसार यदि हर्मुज जलडमरूमा अवरोध लामो समयसम्म जारी रह्यो भने विश्वव्यापी ऊर्जा आपूर्ति, ढुवानी र अर्थतन्त्रमा गम्भीर प्रभाव पर्न सक्छ । ( रासस / एपी )