
सुनाखरी न्युज/ काठमाडौं ।
डडेल्धुरामा भरुवा बन्दुक पड्किँदा एक किशोरको मृत्यु भएको छ ।परशुराम नगरपालिका–२ बसौटीमा मंगलबार साँझ घरभित्र राखिएको अवैध भरुवा बन्दुक समातेर फोटो खिच्ने क्रममा बन्दुक पड्किँदा १७ वर्षीय सुवास महराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायब उपरीक्षक बरुणबहादुर सिंहले जानकारी दिए ।
प्रहरीका अनुसार दुई किशोर बन्दुक समातेर फोटो खिच्ने क्रममा घटना भएको हो । बैतडीको शिवनाथ गाउँपालिका–४ घर भएका महरा दिदी जानकी बोहराको घरमा बस्दै आएका थिए । बन्दुक पड्किएपछि गम्भीर घाइते भएका उनलाई उपचारका लागि जोगबुढा अस्पताल लगिएको थियो ।
घटनापछि इलाका प्रहरी कार्यालय जोगबुढाबाट खटिएको टोलीले परशुराम नगरपालिका–२ बसौटीका गणेशबहादुर बोहरा र बैतडी शिवनाथ गाउँपालिका–४ का अर्का १७ वर्षीय किशोरलाई नियन्त्रणमा लिएको छ । प्रहरीले घटनास्थलबाट भरुवा बन्दुकसमेत बरामद गरेको छ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।