२०८२ फाल्गुन २६ , मंगलबार

समानुपातिक मत गणणा जारी, पछिल्लो बिबरणको आधारमा कुन दलको कति सिट ?

rastriya party

सुनाखरी न्युज/ काठमाडौं ।

प्रतिनिधि सभा निर्वाचन २०८२ को प्रत्यक्षतर्फको मतगणना सम्पन्न भइसके पनि समानुपातिकतर्फको मतगणना भने जारी छ । आज बिहान साढे ८ बजेसम्म १ करोड ३ लाख ४४ हजार ९५२ समानुपातिक मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीले नेपाली कांग्रेसभन्दा तेब्बर बढी मत पाएको छ ।

प्रत्यक्षतर्फ १२५ सिट जितेको रास्वपाले बिहान साढे ८ बजेसम्म समानुपातिकतर्फ ४९ लाख ६७ हजार ४३ मत पाएको छ । यस आधारमा रास्वपाले समानुपातिक मतबाट मात्रै ५८ सिट थप्ने सम्भावना छ ।

 

प्रत्यक्षमा १८ सिट जितेर दोस्रो भएको नेपाली कांग्रेसले समानुपातिकतर्फ १६ लाख ८४ हजार १७५ मत पाएको छ । कांग्रेसले समानुपातिक मतबाट थप १९ सिट पाउने सम्भावना छ ।

यसैगरी प्रत्यक्षमा ९ सिट जितेको नेकपा एमालेले समानुपातिकतर्फ १४ लाख २४७ मत पाएको छ । एमालेले समानुपातिक मतबाट १६ सिट थप्ने सम्भावना छ ।

 

प्रत्यक्षमा ७ सिट जितेको नेपाल कम्युनिस्ट पार्टीले समानुपातिकतर्फ ७ लाख ६१ हजार ६८० मत पाएको छ । उसले समानुपातिक मतबाट थप ९ सिट पाउने सम्भावना छ ।

प्रत्यक्षमा ३ सिट जितेको श्रम संस्कृति पार्टीले समानुपातिकमा ३ लाख ४९ हजार १४० मत पाएको छ । चार महिना अघि मात्रै स्थापना भएर पनि थ्रेसहोल्ड नाघेर राष्ट्रिय पार्टीको मान्यता पाएको श्रम संस्कृतिले समानुपातिक मतबाट ४ सिट थप्ने सम्भावना छ ।

यसैगरी प्रत्यक्षमा एक सिट जितेको राप्रपाले समानुपातिकमा ३ लाख २३ हजार ५३५ मत प्राप्त गरेको छ र ऊ पनि राष्ट्रिय पार्टी बन्न सफल भएको छ । हालसम्मको समानुपातिक मतको आधारमा राप्रपाले पनि ४ सिट थप पाउने सम्भावना देखिएको छ ।