२०८२ फाल्गुन २२ , शुक्रवार

इरानको नयाँ सर्वोच्च नेता चयनमा आफ्नो संलग्नता हुनुपर्ने ट्रम्पको जिकिर

trump-

सुनाखरी न्युज/वासिङ्टन ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको आगामी सर्वोच्च नेता चयन प्रक्रियामा आफ्नो व्यक्तिगत संलग्नता हुनुपर्ने धारणा व्यक्त गरेका छन्। इरानी सर्वोच्च नेता अली खामेनीको मृत्युपश्चात् रिक्त रहेको स्थानमा नयाँ नेतृत्व चयन गर्ने विषयलाई लिएर ट्रम्पले यस्तो टिप्पणी गरेका हुन्।

ट्रम्पले अनलाइन न्युज पोर्टल एक्सियोससँगको अन्तर्वार्तामा  अमेरिकाको सहमति बिना इरानले नयाँ उत्तराधिकारी नियुक्त गर्न खोज्नु समयको बर्बादी मात्र हुने चेतावनी दिएका छन्।

इरानमा अली खामेनीका छोरा मुजतबा खामेनीलाई भावी सर्वोच्च नेताको बलियो दाबेदारका रूपमा हेरिए पनि ट्रम्पले उनलाई कुनै पनि हालतमा स्वीकार नगर्ने स्पष्ट पारेका छन्। मुजतबालाई लाइटवेट नेताको संज्ञा दिँदै ट्रम्पले आफू चयन प्रक्रियामा सहभागी हुनुपर्ने अडान राखेका छन्।

यदि अघिल्लो नेतृत्वकै नीतिलाई निरन्तरता दिने गरी कोही नयाँ नेता आएमा त्यसलाई अमेरिकाले ठाडै अस्वीकार गर्ने र त्यस्तो अवस्थामा आगामी पाँच वर्षभित्रै अमेरिकासँग पुनः युद्धको जोखिम निम्तिन सक्ने ट्रम्पको चेतावनी छ।

ट्रम्पले आफू इरानमा सद्भाव र शान्ति ल्याउन सक्ने नेतृत्वको पक्षमा रहेको दाबी गरेका छन्। मुजतबा खामेनी आफ्नो लागि अस्वीकार्य रहेको दोहोर्‍याउँदै उनले इरानको भविष्यका लागि अमेरिकी चासोलाई नजरअन्दाज गर्न नमिल्ने सन्देश दिएका छन्।
एजेन्सी