
सुनाखरी न्युज/ काठमाडौं।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चालु आर्थिक वर्षको ६ महिनामा १ सय ८८ नयाँ उद्योग स्थापनाको लागि अनुमति दिएको छ । विभागले बिहीवार सार्वजानिक गरेको आर्थिक वर्ष २०८२-८३ को दोस्रो त्रैमासिक तथा अर्धवार्षिक अवधिको कार्य प्रगतिअनुसार विभाग तथा विभाग मातहतका प्रदेशस्थित आठ वटा कार्यालयहरूबाट ती उद्योगलाई अनुमतिपत्र जारी गरिएको हो ।
विभागकी प्रवक्ता डा. बालकुमारी शर्माले ६ महिनामा १ हजार २ सय १८ वटा उद्योगको नविकरण गरिएको जानकारी दिइन् । सो अवधिमा विभागले ४ सय ३५ वटा नयाँ उद्योग खोल्नको लागि सिफारिस गरेको छ ।
उनकाअनुसार दोस्रो त्रैमासमा मात्र्र ३ सय ३३ वटा उद्योग अनुज्ञापत्र नवीकरण तथा ४२१ वटा नयाँ उद्योग स्थापना गर्न सिफारिस गरी ९ सय ४२ वटा उद्योगलाई अनुमतिपत्र जारीरनवीकरणरसिफारिस गरिएको थियो ।
विभागले ६ महिनामा करिव ६ हजार पटक बजार अनुगमन गरेको छ । खाद्य तथा दाना उद्योग, होटल–रेष्टुरेण्ट, राजमार्ग होटल, हाटबजार, विद्यालय–क्याम्पस क्यान्टिन, दुग्ध तथा तेल उद्योग लगायतमा गरी ५ हजार ९ सय ६ पटक अनुगमन गरिएको उनले जानकारी दिइन् । उनका अनुसार दोस्रो त्रैमासिकमा मात्र ३ हजार ३८ पटक निरीक्षण गरिएको थियो ।