
सुनाखरी न्युज/ काठमाडौं ।
चालु आर्थिक वर्षको माघ सम्म बैंक तथा वित्तीय संस्थाले ४ खर्ब ३१ अर्ब रुपैयाँ निक्षेप संकलन गर्दा त्यसको करिब आधा २ खर्ब १४ अर्ब रुपैयाँ मात्र कर्जा प्रवाह गरेका छन् । यो तथ्यांक गत सोमबार (११ फागुन) सम्मको हो ।
गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यस वर्ष बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन बढे पनि कर्जा प्रवाह कम भएको देखिन्छ । यसअनुसार गत आर्थिक वर्ष ११ फागुन २०८१ सम्म बैंक तथा वित्तीय संस्थाले २ खर्ब ५६ अर्ब रुपैयाँ निक्षेप संकलन गर्दा २ खर्ब ७२ अर्ब कर्जा प्रवाह गरेका थिए ।
चालु वर्ष विस्तारकारी बजेट र मौद्रिक नीति आएकाले कर्जा प्रवाह बढ्ने र बैंकहरूमा थुप्रिएको ऋणयोग्य रकम घट्ने अपेक्षा थियो । सुरुका महिनामा कर्जा माग बढ्ने संकेत देखिन थालेका थिए । तर करिब साढे सात महिनाको कर्जा प्रवाहको तथ्यांकले राष्ट्र बैंकको उद्देश्य भेटाउन सक्ने कुनै सम्भावना छैन । कर्जा प्रवाह नभएकै कारण बैंक तथा वित्तीय संस्थामा लगातार १० खर्बभन्दा बढी ऋणयोग्य रकम थुप्रिएको छ ।
मुलुकमा लगानी वातावरण सुध्रिन नसकिरहेका बेला २३ भदौको जेन–जी आन्दोलन र २४ को प्रदर्शनपछि सिर्जित अस्थिर परिस्थितिले अवस्था झनै बिग्रेको छ । गत आर्थिक वर्षको सात महिनाको तुलनामा यस वर्षको सोही अवधिमा निक्षेप बढे पनि कर्जा प्रवाह कम हुनुले यसलाई पुष्टि गर्छ ।
ब्याजदर घटेर इतिहासकै न्यून विन्दुमा ओर्लेको छ । अर्थतन्त्रको सामान्य सिद्धान्तअनुसार ब्याजदर कर्जा प्रवाहबीच उल्टो सम्बन्ध हुन्छ । ब्याजदर घट्दा ऋण बढ्ने र बढ्दा घट्ने हो । अहिले यो सिद्धान्तले काम गरेको देखिँदैन । अहिले ब्याजदर घटे पनि अन्य प्रभावित तत्त्वहरू सक्रिय रहेकाले कर्जा माग बढ्न नसकेको जानकार बताउँछन् ।
राजनीतिक अस्थिरतासँगै सुरक्षामा प्रश्न उठेकाले उद्योगी व्यवसायीले थप लगानी गर्न नसकेको नेपाल उद्योगी व्यवसायीको भनाइ छ । लगानी बढाउन इच्छा भए पनि मुलुकको लगानी वातावरण र सुरक्षाको अवस्था नाजुक रहेको उनीहरूको दाबी छ ।