२०८२ फाल्गुन २२ , शुक्रवार

वसन्तपुरमा चीर ठड्याइयो, सुरु भयो होली (तस्बिरहरू)

Holi-chir_Basantapur_-108-1771905721

सुनाखरी न्युज/ काठमाडौं ।

काठमाडौँको वसन्तपुरमा होलीको चीर ठड्याइएको छ। मंगलबार बिहान रंगीविरंगी कपडाहरूको ध्वजापताकासहितको तीन खण्डे चीर ठड्याइएको हो। फागुन शुक्ल अष्टमीका दिन काठमाडौँको बसन्तपुरस्थित हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ चीर ठड्याएपछि देशभर फागु अर्थात् होली पर्व सुरु भएको मानिन्छ ।

यही प्रचलन अनुसार मंगलबार बिहान मानन्धर समुदायले रंगीचंगी ध्वजासहितको चीर ठड्याएका छन् । साथै उनीहरूले एकअर्कालाई अबिर दलेर होली पर्व सुरु भएको जनाउ दिएका छन् । हनुमानढोका दरबारको दक्षिण पटांगिनी, ऐतिकासिक मोहनकाजी चोक तथा दाखचोकमा ३२ फुट उचाइको तीन खण्डे गजुर जस्तो देखिने रंगीविरंगी होली चीर ठड्याइएको हो ।

चीर ठड्याइसकेपछि गुर्जुको पल्टनबाट हर्ष बढाइ गरिएको थियो । चीर ठड्याएसँगै राजधानी काठमाडौंलगायत मुलुकभर औपचारिक रूपमा होली पर्व सुरु भएको मानिन्छ ।वसन्तपुर दरबार क्षेत्रमा चीर ठड्याइएको अवसरमा नेपाली सेनाको एक टोलीले मंगलधुन बजाउनुका साथै बन्दुक पड्काएर हर्ष बढाइँ गरेको थियो । होली पर्वलाई वसन्त ऋतुको आगमनको खुसीयालीमा रङसहित मनाउने पर्वको रूपमा लिने गरिन्छ।