
सुनाखरी न्युज/ काठमाडौं ।
धादिङ बस दुर्घटना घाइते भएकामध्ये एक जनाको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको छ । ट्रमा सेन्टरमा उपचारको क्रममा एक जना घाइतेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । उनको ठेगाना स्याङ्जा रहेको प्रहरीले जनाएको छ । पोखराबाट काठमाडौं आउँदै गरेको ग २ ख १४२१ नम्बरको पृथ्वी यातायात व्यवसायी समितिको बस गएराति करिब १ बजेतिर धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैंसेगौडाबाट त्रिशूली नदी किनारमा खसेको थियो ।
दुर्घटनास्थलमै १७ जनाको मृत्यु भएको थियो । बसमा सवार ४४ जनामध्ये २७ जनालाई उपचारका लागि काठमाडौं लगायत विभिन्न अस्पताल पठाइएको थियो । अचेत अवस्थामा रहेका घाइतेलाई मलेखु र जिल्ला अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि रिफर गरिएको थियो । रातिको समयमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय र्याफ्टिङ व्यवसायीले संयुक्त रूपमा उद्धारकार्य सञ्चालन गरेका थिए । घटनास्थलबाट डुंगाको सहायताले यात्रुलाई करिब एक किलोमिटर तलसम्म पुर्याएर त्यहाँबाट सडकमा उकालेर एम्बुलेन्समार्फत अस्पताल पठाइएको थियो ।
बस सडकबाट तल झरेर त्रिशूली किनारको ढुंगामा ठोक्किँदा पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । अँध्यारो, अप्ठ्यारो भौगोलिक अवस्था र उद्धार सामग्रीको अभावका कारण उद्धारकार्य चुनौतीपूर्ण बनेको प्रमुख जिल्ला अधिकारी सुवेदीले बताएका छन् । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।