२०८२ फाल्गुन २२ , शुक्रवार

आज ग्याल्पो ल्होसार मनाइँदै, देशभर सार्वजनिक बिदा

Galpo lhosar

सुनाखरी न्युज/ काठमाडौं ।
आज विभिन्न कार्यक्रम गरी ग्याल्पो ल्होसार पर्व मनाउँदै छन्।

ल्हो अर्थात् वर्ष अनि छार अर्थात नयाँ भनिन्छन्। शेर्पा समुदायले यसलाई नयाँ वर्षका रुपमा मनाउँछन् ।

पर्वको अवसरमा शेर्पा समुदायमा आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसरफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार गुथुक र खाप्से खाने तथा आपसमा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्षको स्वागत गर्ने परम्परा रहेको छ।

पारिवारिक एवं सामाजिक मेलमिलाप अभिवृद्धि गर्ने अवसरका रूपमा यस पर्वलाई लिइन्छ।

नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायलगायत महायान बौद्ध परम्परामा चन्द्रमास गणना गरी फागुन शुक्लपक्ष प्रतिपदा तिथिका दिन नयाँ वर्ष सुरु हुने विश्वाससहित ग्याल्पो ल्होसार मनाइन्छ।

 

नयाँ वर्षका रुपमा मनाइने यो पर्वले नयाँ आशा, उमङ्ग र उल्लास बोकेर समाजमा आपसी प्रेम, भाइचारा, सद्भाव र एकताको भावना अझ सबल बनाउन सहयोग पुग्ने पनि विश्वास छ ।

यो पर्वले परिवार, मित्रता र समुदायबीचको सम्बन्धलाई थप घनिष्ठ बनाउँदै सहकार्य र समझदारीको वातावरण सृजना गर्दछ ।

यस अवसरमा गुम्बा दर्शन, धर्मगुरु र लामाबाट आशिर्वाद प्राप्त गर्ने परम्परा, विशेष परिकार खाप्से, डेशिल, गुथुक आदिको स्वाद लिनु र परिवारसँग मिलेर उल्लासपूर्वक समय बिताउनु नेपालीहरुको मौलिक पहिचान हो।
रासस