
सुनाखरी न्युज/ काठमाडौं ।
नेपालमा केहीबेर अवरुद्ध भएको युट्युब अहिले चलिरहेको छ । कतिपय ठाउँमा भने अझै राम्रोसँग युट्युब चलेको छैन ।आज बिहान युट्युब डाउन हुँदा विश्वभरका लाखौँ प्रयोगकर्ताले समस्या भोगेका थिए । प्रयोगकर्ताहरूले भिडियो लोड नहुने, गृहपृष्ठ खाली देखिने तथा मुख्य सुविधाहरू प्रयोग गर्न नसक्ने समस्या भोगेका थिए। यो अवरोधका कारण गुनासोहरूमा भारी वृद्धि भयो।
लाखौं प्रयोगकर्ताले युट्युब म्युजिक र युट्युब किड्स जस्ता सेवामा पनि समस्या रिपोर्ट गरेका थिए। गुगल र युट्युब टिभीमा पनि केही समस्या देखिए पनि मुख्य असर भने युट्युबको मुख्य प्लेटफर्ममै परेको थियो ।
परीक्षण गर्दा युट्युबको होमपेज, सर्ट भिडियो र सब्स्क्रिप्सन फिडजस्ता मुख्य फिचरहरूले काम गरेका थिएनन् । मोबाइल एप र वेबसाइट दुवैतिर यो समस्या देखिएको थियो । युट्युबको सर्भरहरू विभिन्न क्षेत्रमा बाँडिएका हुन्छन् ।
हालको समस्या मुख्यगरी पश्चिमी देशका सर्भरहरू वा गुगलको केन्द्रीय अल्गोरिदम प्रणालीमा आएको प्राविधिक त्रुटि हुन सक्ने अनुमान गरिएको छ, जसले गर्दा नेपाल जस्ता केही क्षेत्रमा यसको प्रभाव कम परेको हुन सक्ने अनुमान छ ।