
सुनाखरी न्युज/ काठमाडौं ।
मलंगवामा कार्यरत सव–इन्जिनियर प्रमोद कुमार यादवको हत्या प्रकरणप्रति कर्मचारी संगठनहरूले गम्भीर आपत्ति जनाउँदै सेवा प्रवाह बन्द ( पेन डाउन) गर्ने घोषणा गरेका छन्। सब–इन्जिनियर अन्दाजी ३६ वर्षीय प्रमोद कुमारयादवको आइतबार साँझ हत्या भएको हो । यादव मलंगवा–१० स्थित भाडाको घरमा बस्दै आएका थिए । मोटरसाइकलमा आएका अपरिचित हतियारधारीले गोली हानेर उनको हत्या गरेको प्रहरीले जनाएको छ ।
कर्मचारी मिलन केन्द्र, सर्लाहीसहित जिल्लामा क्रियाशील विभिन्न ट्रेड युनियनहरूले सोमबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै घटनाको भत्र्सना गरेका हुन्। विज्ञप्तिमा फागुन ३ गते आइतबार साँझ करिब ८ बजे मलंगवा नगरपालिका–१०, देवीटोलस्थित डेराबाट बाहिर बोलाएर अज्ञात समूहले यादवमाथि गोली प्रहार गरी हत्या गरेको घटनालाई अमानवीय र नृशंस कार्यको संज्ञा दिइएको छ।
विज्ञप्तिअनुसार घटनाको विरोध तथा दोषीलाई तत्काल कानुनी दायरामा ल्याउन दबाब सिर्जना गर्ने उद्देश्यले फागुन ५ गते मंगलबार जिल्लाभरका सम्पूर्ण कार्यालयमा कार्यरत कर्मचारीहरूले एक दिन सेवा प्रवाह बन्द गर्ने निर्णय गरिएको छ।